तिहारमा ‘पाँच पाण्डव’ रिलिज हुने, आरआर फिल्मसले गर्ने वितरण


काठमाडौं । बलियो लाइनअपका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’ले रिलिज मिति तय गरेको छ । निर्माण टिमका अनुसार फिल्म तिहारको अवसर पारेर प्रदर्शनमा आउनेछ ।

तिहारको बिदालाई लक्षित गर्दै फिल्म दर्शकमाझ ल्याउन लागिएको हो । रिलिज मिति घोषणा भएसँगै यसको वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले लिएको छ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठले वितरकसँगको सहकार्यमा उपयुक्त मिति छनोट गरिएको बताए । ‘वितरक टिमसँगको सहल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका हौं । राम्रो मिति रोजेकाले व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वास छ,’ उनले भने ।

फिल्म वितरणको जिम्मा लिएका रोहित कट्टेलले ‘पाँच पाण्डव’प्रति आफूहरू निकै उत्साहित रहेको बताए । ‘हामीले फिल्मको कन्टेन्ट र कलाकारहरूको बलियो लाइनअप हेरेर नै वितरणको जिम्मा लिएका हौं । तिहार जस्तो ठूलो चाडमा दर्शकले खोज्ने पूर्ण मनोरञ्जन यो फिल्मले दिनेछ,’ उनले भने । उनले फिल्म व्यावसायिक र कलात्मक दुवै हिसाबले सफल हुने विश्वास व्यक्त गरे ।

विषयवस्तु, कलाकार, निर्माण टिम र प्राविधिक पक्ष बलियो बनाइएकाले फिल्म प्रतिक्षित बनेको छ । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरीलगायतको पनि अभिनय रहनेछ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्मलाई वसन्त निरौलाले निर्देशन गरिरहेका छन् । चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको थियो ।

फिल्म ‘पाँच पाण्डव’ सामाजिक कथावस्तुमा आधारित रहेको लेखक सुशील पौडेलले बताएका छन् । कथा, पटकथा तथा संवाद पौडेलकै रहेको छ । उनका अनुसार फिल्मले महाभारतका पाँच पाण्डवका चरित्रलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

नवीन श्रेष्ठले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए भने यस फिल्मको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छन् । फिल्मको छायांकन झापा र काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ ।

हाल झापास्थित एचएमसी न्यू हिकोला होटलमा फिल्मको भव्य इन्टेरियर दृश्य खिचिँदै छ । त्यसपछि अन्य स्थानमा छायांकन गर्ने तयारी रहेको निर्देशक निरौलाले बताए ।

फिल्मको छायांकन श्याम तामाङले गरिरहेका छन् भने वितरण आरआर फिल्मसले गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.