
काठमाडौँ । टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ को तेस्रो सिजनको छायांकन सुरु भएको छ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले शोको सुटिङ सुरु गरेको हो । कार्यक्रम आगामी ४ वैशाखदेखि प्रसारण हुने जनाइएको छ ।
सोमबार पुतलीसडकस्थित स्टुडियोमा दुई भागको छायांकन सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ । पहिलो भागमा ‘मितज्यू’ फिल्मको टिमको सहभागिता रहेको थियो, जसमा दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देल र तेरिया मगर अतिथि कलाकारका रूपमा उपस्थित थिए । दोस्रो भागमा फिल्म ‘पहाड’को टिम सहभागी भएको थियो ।
पहिलो र दोस्रो सिजनको सफलतापछि तेस्रो सिजनमा केही परिवर्तन गरिएको निर्माण पक्षले जनाएको छ । यसपटक सेट डिजाइनमा समेत परिवर्तन गरिएको छ ।
जज प्यानलमा यसअघि रहेका ‘महाराजा’ र ‘महारानी’सँगै थप एक पात्र ‘रानी’को रूपमा अभिनेत्री दीया मास्के प्रवेश गरेकी छिन् । महारानीको भूमिकामा गौरी मल्ल र महाराजाको भूमिकामा मनोज गजुरेल यथावत छन् ।
त्यस्तै, तीन नयाँ कमेडियनको समेत प्रवेश भएको छ । यसपटक कमेडियन दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बा शोमा भित्रिएका छन् ।
कार्यक्रममा सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्याललगायतका कलाकारहरू यथावत रहनेछन् ।
शोको शीर्ष प्रायोजकका रूपमा डाबर रेड पेस्ट रहेको छ ।
‘कमेडी दरबार’ प्रत्येक शुक्रबार राति प्राइम टेलिभिजन र OSR Reality YouTube च्यानलमार्फत प्रसारण हुनेछ । शोको निर्देशन श्रद्धा प्रसाईं र बिक्की अग्रवालले गर्दै आएका छन् भने होस्टको रूपमा बिक्की अग्रवालसँगै सजिना खनाल रहनेछिन् ।लेखनमा सरोज भण्डारी र विकास अर्याल रहेका छन् ।


