चलचित्रका गीत: सर्जकको शक्ति र गीतकारको अधिकारबारे गहन बहस


काठमाडौं । चलचित्रमा गीतको महत्व र गीतकारको हकअधिकारबारे केन्द्रित एकदिने कार्यशाला सम्पन्न भएको छ। गीतकार सङ्घ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित ‘चलचित्रमा गीतको भूमिका तथा गीतकारको हकअधिकार’ विषयक उक्त कार्यक्रममा चलचित्रभित्र गीतको सर्जनात्मक, सांस्कृतिक र व्यावसायिक पक्षमाथि विस्तृत विमर्श गरिएको थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ कवि–गीतकार एसपी कोइराला, वरिष्ठ गायिका मिरा राणा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, वरिष्ठ गीतकार आनन्द अधिकारी तथा कवि–गीतकार श्रवण मुकारुङले आफ्ना धारणा प्रस्तुत गरेका थिए। कार्यक्रमको अध्यक्षता गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले गर्नुभएको थियो।

स्वागत मन्तव्य दिँदै अध्यक्ष थापाले नेपाली चलचित्रमा गीतलाई केवल प्रचार सामग्रीका रूपमा सीमित नगरी त्यसको सर्जनात्मक मूल्य, गीतकारको श्रम, प्रतिलिपि अधिकार र रोयल्टी जस्ता विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। यस्ता कार्यक्रमले गीतको इतिहास, प्रभाव र आवश्यकताबारे व्यापक चेतना फैलाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यपत्र प्रस्तुत गर्दै गीतकार आनन्द अधिकारीले चलचित्रमा गीतलाई ‘प्राण’ का रूपमा चित्रण गर्नुभयो। उहाँका अनुसार गीतले कथालाई जीवन्त बनाउने, पात्रहरूको भावनालाई उजागर गर्ने र दर्शकसँग गहिरो सम्बन्ध स्थापित गर्ने काम गर्छ। कतिपय अवस्थामा एउटै गीतले सम्पूर्ण कथाको भाव बोकेर दर्शकमा दीर्घकालीन प्रभाव छोड्न सक्ने उहाँको भनाइ थियो।

प्रविधिको तीव्र विकाससँगै चलचित्रको प्रस्तुति र विषयवस्तुमा आएको परिवर्तनबारे चर्चा गर्दै उहाँले विशेषगरी हिंसात्मक सामग्रीको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गर्नुभयो। साथै चिनियाँ, हलिउड, बलिउड तथा नेपाली चलचित्रको विकासक्रमलाई समेत उहाँले आफ्नो प्रस्तुतीमा समेट्नुभयो।

प्रतिलिपि अधिकार र रोयल्टीबारे बोल्दै सुरेश अधिकारीले गीतकार नै गीतको पहिलो स्रष्टा भएकाले गीतको पुनःप्रयोग, रिमेक वा सार्वजनिक प्रयोगमा गीतकारको अनुमति अनिवार्य हुने स्पष्ट पार्नुभयो। बौद्धिक सम्पत्तिको संरक्षणका लागि स्पष्ट सहमति, अभिलेखीकरण र कानुनी सचेतनाको आवश्यकता औंल्याउँदै उहाँले रोयल्टी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

वरिष्ठ गायिका मिरा राणाले चलचित्र गीतबाटै आफ्नो सांगीतिक यात्रा सुरु भएको स्मरण गर्दै गीतबिनाको चलचित्र भावनात्मक रूपमा अधुरो हुने बताउनुभयो। चलचित्रलाई पूर्णता दिन गीत–संगीतको भूमिका अपरिहार्य रहेको र गीतकारलाई मुख्य सर्जकका रूपमा सम्मान गर्नुपर्ने उहाँको धारणा थियो।

कवि–गीतकार श्रवण मुकारुङले पनि चलचित्र गीतको प्रभावबारे चर्चा गर्दै आफ्ना अनुभव सुनाउनुभयो। उहाँले गीतकारलाई कतिपय अवस्थामा सिर्जनाकर्मीभन्दा प्रयोगको वस्तुजस्तो व्यवहार गरिएको यथार्थतर्फ संकेत गर्दै स्रष्टाको सम्मान र स्पष्ट सम्झौता संस्कृतिको विकास आवश्यक रहेको बताउनुभयो।

पूर्वमन्त्री तथा वरिष्ठ कवि–गीतकार एसपी कोइरालाले गीतकारहरूको हकअधिकारको संरक्षणमा गीतकार सङ्घ नेपालले निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै यस्ता विषयमा बहस सुरु गरिनु सकारात्मक भएको बताउनुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष दिनेश डिसीले कार्यशालाले गीतकार र चलचित्रकर्मीबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। स्रष्टा र चलचित्रकर्मीको अधिकार संरक्षणमा बोर्ड सधैं प्रतिबद्ध रहने बताउँदै उहाँले सहकार्यप्रति खुशी व्यक्त गर्नुभयो।

कार्यशालाले चलचित्रमा गीतको रचनात्मक, भावनात्मक र सांस्कृतिक भूमिकालाई पुनः उजागर गर्नुका साथै गीतकारको हकअधिकार, रोयल्टी र प्रतिलिपि अधिकारका विषयलाई थप सशक्त रूपमा उठाएको सहभागीहरूको निष्कर्ष रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.