चलचित्र ‘एक मुठ्ठी बादल’को पहिलो गीत सार्वजनिक


काठमाडौँ। जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र एक मुठ्ठी बादलले पहिलो गीत सार्वजनिक गरेको छ । रेल घुम्यो घुम्तीमा बोलको गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् ।

सुमित पाठकको संगीतमा मीना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतलाई हर्क साउदले रचना गरेका हुन् । गीतले एकाघरमा रहेका तीन पुस्ते महिलाको आवाजलाई प्रस्तुत गरेको छ । सुमित नेपाल आइडल सिजन २ उपविजेता हुन् । गायकको रुपमा पहिचान बनाएका सुमितले चलचित्र संगीतमा सुरुवात गरेका हुन् ।

भिडियोले विवाहको अघिल्लो दिन हुने रमाइलोलाई पृष्ठभूमिको रुपमा प्रस्तुत गरेको छ । विवाहको तयारीसँगै सुरु हुने गीतमा निशा शर्मा, उषा रजक र आँचल शर्माले आफ्नो आफ्नो जीवन भोगाइलाई गति दिएका छन् ।

निर्देशक सहारा शर्माका अनुसार गीतमा अभिव्यक्त आवाज नै चलचित्रको सार हो । उनले गीतकार हर्क साउदसँग विभिन्न चरणमा काम गरेको जानकारी गराउँदै गीतमा चलचित्रको कथा अटाउने चाहाना चुनौतीपूर्ण रहेको स्मरण गरिन् ।

एक मुठ्ठी बादलकी निर्देशक सहारा शर्मा भन्छिन्, ‘यो गीत बनाइरहँदा हामी सबै पुस्ताका महिलाको भावना समेट्न चाहान्थ्यौँ । हाम्रा हजुरआमा र नातिनी सबैले आत्मसात गर्न सक्ने सिर्जना पस्कन चाहान्थ्यौँ । त्यो पूरा भएको छ भन्ने लाग्छ ।’

सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको चलचित्रको गीतलाई भने प्रतीक गुरुङले निर्देशन गरेका हुन् । गीतमा कृतिका बरालको कोरियोग्राफी, निहाल भण्डारीको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।

चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन , अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ । चलचित्रमा मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.