
काठमाडौँ। आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ यसको चर्चा अझै बढेको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र नव–अभिनेता विशाल देवकोटालाई आकर्षक जोडीका रूपमा प्रस्तुत गरिएको छ।
रंगमञ्चबाट आफ्नो पहिचान बनाएका विशाल देवकोटाले यसै फिल्ममार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। अडिसन प्रक्रियाबाट छनोट भएका उनले आफ्नो अभिनय क्षमताकै बलमा पहिलो फिल्ममै स्वस्तिमासँग स्क्रिन शेयर गर्ने अवसर पाएका हुन्। निर्माण कम्पनी षट्कोण आट्र्सका अनुसार विशालको अभिनयले टिमलाई निकै प्रभावित बनाएको थियो।
सानैदेखि कलाकार बन्ने लक्ष्य बोकेका विशालले नाटकमार्फत अभिनय यात्रालाई अघि बढाएका थिए। विशेषगरी कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा उनको अभिनयपछि ‘लालीबजार’ टिमको ध्यान उनीतर्फ खिचिएको थियो। त्यसपछि उनले अडिसनका विभिन्न चरण पार गर्दै फिल्ममा स्थान बनाउन सफल भएका हुन्।
विशालका अनुसार रंगमञ्च र फिल्म अभिनयको अनुभव फरक हुन्छ। रंगमञ्चमा पात्रलाई एकैचोटि जिउन पाइने भए पनि फिल्ममा भने दृश्यअनुसार टुक्रिएर अभिनय गर्नुपर्ने चुनौती हुन्छ। उनले ‘लालीबजार’को कथा समाजकै यथार्थसँग नजिक रहेको बताउँदै दर्शकले आफूलाई कथासँग सजिलै जोड्न सक्ने विश्वास व्यक्त गरेका छन्।
नयाँ टिमसँग काम गर्दा आफूलाई सहज महसुस भएको उल्लेख गर्दै उनले स्थापित ब्यानरबाट डेब्यु गर्न पाउनु आफ्ना लागि महत्वपूर्ण अवसर भएको बताए। उनले दर्शकलाई परिवारसहित फिल्म हेर्न आग्रह समेत गरेका छन्।
यसैबीच, फिल्मको गीत ‘मायालाई के दिउँ म बैना’ पनि दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। युट्युबदेखि टिकटक र फेसबुक रील्ससम्म उक्त गीतमा भिडियो बनाउने ट्रेन्ड बढ्दो देखिन्छ, जसले फिल्मप्रतिको उत्सुकता झन् बढाएको छ।
बर्दियाको राजापुरमा छायांकन गरिएको ‘लालीबजार’मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ। साथै, यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले फिल्मी यात्रा सुरु गर्दैछन्।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद प्रदीप भट्टराईसँगको सहकार्यमा तयार पारिएको हो। फिल्ममा विभिन्न अनुभवी प्राविधिकहरूको टोली संलग्न रहेको छ, जसले ‘लालीबजार’लाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।


