
काठमाडौं । नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ चैत २४ गतेबाट छायांकनमा जाने तयारीमा जुटेको छ। निर्माण टिमले छायांकन मितिसँगै प्रदर्शन मिति पनि तय गरेको छ।
निर्देशक नीता ढुङ्गानाका अनुसार फिल्मलाई आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याइनेछ। “हामी चैत २४ गतेबाट छायांकनमा निस्किँदैछौँ। वितरक तथा सरोकारवालासँगको सल्लाहअनुसार भदौ १२ लाई रिलिज मिति तय गरेका छौँ,” उनले भनिन्।
फिल्ममा निर्देशक ढुङ्गाना स्वयं मुख्य भूमिकामा देखिनेछिन्। साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ।
ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बराल डिओपी रहेको फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशकका रूपमा रहेका छन्।
प्रोडक्सन शंकर पाण्डेले सम्हालेका छन् भने उनी कार्यकारी निर्माता पनि हुन्। फिल्मको सम्पादन साहिल खानले गर्नेछन् भने पोस्टर डिजाइन रोयल भीमसेनले तयार गर्नेछन्।


