
काठमाडौं । पारस बम ठकुरी र दिव्या रायमाझी अभिनीत फिल्म ‘बेहुली’को शुभमुहूर्त ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा–अर्चना गर्दै सम्पन्न गरिएको छ। मुहूर्तसँगै फिल्मको छायांकन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ।
निर्माता अर्जुन पोखरेलका अनुसार फिल्म यसै साताबाट छायांकनमा जानेछ भने आगामी भदौ १२ गते, हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउनेछ।
‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मबाट संगीतकार अर्जुन पोखरेल पहिलो पटक निर्माताका रूपमा देखिँदैछन्। फिल्मको संगीत निर्देशन पनि उनले नै सम्हालेका छन्।
निर्देशक सशान कँडेल र लेखक माधव शर्मा ‘होस्टेल ३’पछि पुनः सहकार्यमा देखिएका छन्। फिल्ममा पारस बम ठकुरी मुख्य भूमिकामा छन् भने दिव्या रायमाझी उनको जोडीका रूपमा देखिनेछिन्। साथै, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगरलगायत कलाकारहरूको अभिनय रहनेछ।
प्रताप राणाको निर्माण रहेको फिल्ममा सुमन थिङ तामाङ कार्यकारी निर्माता तथा दुर्गा खरेल र रमेश सिलवाल सह–निर्माताका रूपमा रहेका छन्। नरेन्द्र मैनाली (डीओपी), विकास दाहाल (सम्पादन) र रोशन श्रेष्ठ (द्वन्द्व निर्देशन) रहेको फिल्मको छायांकन हुनेछ।
फिल्मलाई काठमाडौँ उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।


