कमेडी कपिल काठमाडौँमा भए भाबुक


सुरक्षाका कारण देखाउँदै रद्द ‘पर्फल फेस्ट’ ले शुभेच्छुकहरू शनिबार दिनभर जति बेचैन भए, साँझ होटल याक एन्ड यतीमा चर्चित कमेडीस्टार कपिल शर्मालाई पर्खिबसेका सञ्चारकर्मी उत्तिकै निराश । बिहान एघार बजे नै ‘कमेडी नाइट्स विद कपिल’ मा दादीको भूमिका गर्ने अली अजगर र नोकरको भूमिका गर्ने राजु सहित काठमाडौं उत्रेका कपिलको याक एन्ड यतीस्थित दरबार हलमा साढे चार बजे पत्रकार सम्मेलन डाकिएको थियो । डेढ घन्टापछि बल्ल अली र राजु देखा परे, सञ्चारकर्मीले केही सवाल-जवाफ गरे- ‘केटीको भेषधारी अलीले किन केटालाई मात्रै ‘किस गर्छ ?’ देखि सोमा अहिलेसम्म गर्न नसकेको अनुभवसम्म ।’ ‘किस त विपरीतलिंगीमा त हुन्छ नि ?’ अलीले हँसाउन भ्याए, ‘अहिले केटा भए पनि सोमा त म केटीकै रूपमा हुन्छु ।’ अनि उनले अहिलेसम्म शोमा नगरेको अनुभवमा चाहिँ ‘तलब थाप्न नपाएको’ भन्दै हँसाए । यसपछि यी दुई पनि हराए कतै ।
Kapil-sonu-nigam
सम्मेलनस्थलमा पत्रकारमात्रै । ‘त्यत्रो शो नै त रद्द भो,’ शून्य समयमा पत्रकारहरूले ठट्टा गरे, ‘पत्रकार सम्मेलन पनि रद्द भएको खबर पो आउला जस्तो छ ।’ एकछिन् सबै हाँसे । हँसाउनकै लागि आएका र त्यही होटलमा बसिरहेका कपिल भने दुई घन्टा ढिला पत्रकार सम्मेलनमा पसे । चर्को सुरक्षासहित प्रवेश भएका उनलाई सुरुमै पत्रकारहरूले प्रश्नको झटारो फ्याँके, ‘तपाईंलाई भनेर हामी घन्टौंदेखि पर्खिबसेका छौं । दुई घन्टापछि आउनुभो ।’ ‘कमेडी नाइट्स’ का ‘किङ’ ले हँसाउने मुड देखाएनन् । कुर्सीमा बस्दै गर्दा उनको मुखबाट फुत्कियो- ‘सरी ।’ खासमा उनी पछिल्लो डेढ महिना सुटिङमा निकै व्यस्त रहे । छिट्टै फिल्ममा देखिन लागेका उनी काममा यति व्यस्त भए कि पछिल्ला रातहरू राम्ररी सुत्नै पाएको थिएनन् । ‘हिजो राती नि राम्ररी सुत्न पाइनँ । सो क्यान्सिल भइहालेको थियो, कम्तीमा निद्रा चाहिँ पुर्‍याऊँ भनेको त भुसुक्कै पो निदाएछु,’ उनले स्पष्टीकरण दिँदै सरसर्ति पत्रकारहरूको मनोविज्ञान बुझ्न टाउको दायाँबायाँ घुमाए, माहोल ‘ठीक छ’ भन्ने अनुभूति भएपछि मुसुक्क हाँसे ।

अघिल्लो वर्ष फोब्र्स म्यागेजिनले चर्चित सय सेलिब्रेटीमा सूचीकृत गरेको ९६औं नम्बरका यी स्ट्यान्ड अप कमेडियन, कार्यक्रम प्रस्तोता तथा गायकले केही मिनेटभित्रै परिस्थितिलाई आफ्नो काबुमा ल्याए । दोस्रो प्रश्न तेर्सियो, सो स्थगित भएकोबारे । प्रश्न अंग्रेजीमा थियो तर जवाफ यिनले हिन्दीमा थाले । ‘लन्डन पुगेर हिन्दी बोलेजस्तै मोदी साबको फलो गर्नुपरेन त ?’ दुई साताअघि मात्रै काठमाडौंमा मोदीको हिन्दी भाषण सुनेका सञ्चारकर्मीमाझ हाँसो गुन्जियो । ‘स्ट्यान्ड अप’ कमेडियनको कुरा न रह्यो । तर, सो स्थगित हुनुले चाहिँ दर्शकसँगै आफू पनि दुःखी रहेको उनले अभिव्यक्ति दिए । ‘सुरक्षा भनेको मुख्य कुरा हो, मेरो भन्दा पनि दर्शककै पनि सुरक्षाको कुरो रह्यो नि । कार्यक्रम स्थल पुनर्निर्माण भइरहेको रहेछ । कार्यक्रम भएर भागदौड मच्चिएको भए नराम्रो हुन सक्थ्यो ।’ यसपछि उनले नेपालमा ६ वर्षअघि नै एउटा ‘कर्पोरेट’ कार्यक्रममा आएको र त्यति बेलादेखि नै आफूलाई काठमाडौैं मन परेको बताए । ‘मलाई यहाँका मान्छे निकै मन पर्छ । हाम्रो सोलाई पनि रुचाइदिनुभएको छ,’ भारतको पन्जाब अमृतसरमा जन्मिहुर्केका ३३ वषर्य कपिलले भने, ‘सो स्थगित भए पनि छिट्टै आउनेछु ।’ कार्यक्रम भइहालेको भएचाहिँ उनले कमेडी प्रस्तुतिसँगै गीत सहितको म्युजिकल वातावरणमा आफ्नो फरक प्रस्तुति दिने योजना बनाएको जनाए । सो स्थगित भएपनि आफूले ट्वीटरमार्फत् धेरै नै रेस्पोन्स पाइरहेको उनले खुलाए । आयोजक एनसेलका अनुसार शुक्रबारसम्ममा मात्रै करिब १३ हजार टिकट बिक्री भइसकेको थियो, प्रायः लास्ट आवरमा टिकट किन्ने नेपाली मनोविज्ञानलाई आँकलन गर्दा थप ५ हजार टिकट बिक्री हुने अनुमान थियो । २३ हजार दर्शक अट्ने दशरथ रंगशालाको मैदानमा स्टेज र लाइटिङसहितको तयारी अन्तिम चरणमा पुगिसकेको थियो । ‘ट्वीटरमा धेरैले ‘कपिल तिमी कहाँ छौ’ भन्दै प्रतिक्रिया दिइरहेका छन्,’ उनले फेरि हँसाए, ‘बडे बडे देशमे छोटे-छोटे बात होते रहेते हो ।’ यसपछि नेपालसँगै जोडिएको अर्को प्रश्न तेर्सियो सगरमाथाबारे विवादित भनिएको अभिव्यक्तिबारे ।

कपिल अबचाहिँ सिरियस देखिए । ‘मेरो अभिव्यक्ति त्यस्तो थिएन । तर, त्यसले नेपाली मनलाई आघात पुगेको छ भने माफी चाहन्छु भनेर उहिल्यै ट्वीटरमा भनिसकेको छु,’ उनी भावुक भए, ‘दुई वर्षअघि अस्टे्रलियाको सिड्नीमा के भनेको थिएँ भने ‘जब हिमाल चढ्ने कुरा आउँछ, तब अलास्का या यस्तै अरू नै टाढाका हिमालतिर लम्किन्छौं, आफ्नै घरवरिपरि बिर्सन्छौं ।’ नेपालकै पर्यटन बढोत्तरी हुने खालको यो अभिव्यक्ति विवादित भएकोप्रति उनी दुःखी भए । ‘त्यसमाथि मलाई नेपाल आफ्नै घरजस्तो लाग्छ,’ लगत्तै अनुहार चम्काउँदै कमेडी शैलीमा भने, ‘मेरो घर पुग्न तीन घन्टा लाग्छ, जबकि यहाँ म दुई घन्टामै आइपुग्न सक्छु ।’ ‘अनि तपाईंले दादीलाई त तलब दिनुभएकै रहिन्छ । अघि त्यसै भन्दै हुनुहुन्थ्यो यहाँ ।’ गम्भीर मुडलाई प्रश्नले कमेडीतिर डोहोर्‍याइदियो । ‘मैले तलब नदिएको भए, उनी आज मसँगै काठमाडौं कसरी आउनसक्थंे ?’ कपिलको स्ट्यान्ड अप कमेडी जवाफ । भावुक र ठट्यौलो यो दोहोरीबीच अर्को प्रश्न सुनियो, ‘यतिका लामो समयदेखि अरूलाई हँसाउँदै आउनुभएको छ, पछिल्लो छ महिना यता रोएको कुनै सम्झना छ ?’ अविवाहित यी स्टार केही समय अल्मलिए । यसपछि गम्भीर लाग्ने जवाफ दिए, ‘मान्छेको जीवनमा दुःखहरू स्वभाविक रूपमा आउँछन् । म पनि जीवनमा धेरैपटक रोएको छु । तर पछिल्लोपटक कहिले रोएँ भन्नेचाहिँ ठ्याक्कै याद छैन ।’ उनले मान्छे मारेको दृश्य नेटमा राखेर खुसी हुने पनि संसारमा रहेकोमा दुःख व्यक्त गर्दै आफ्नो कमेडीलाई चाहिँ ‘तत्काल रेस्पोन्स मिल्ने प्रस्तुति’ को रूपमा व्याख्या गरे ।

‘त्यसो भए हँसाउन कतिको सजिलो छ ?’ प्रश्नको यो झटारोलाई चाहिँ उनले अलिक दार्शनिक पाराले सामना गरे । ‘यो सहरमा कति धेरै समस्या छन् । अझ मेट्रो सिटीको समस्याको त कुरै छोडिदिन्स् । घरजति अग्लिँदै छन्, मानिसहरू अझैं माथि माथि उक्लिरहेका छन् । समस्या नै समस्या छन् चारैतिर,’ उनले भने, ‘यस्तोमा हँसाउनुभनेको निकै कठिन काम हो ।’ जीवन, समस्या र हाँसोबीचको यो दार्शनिक जवाफलाई नजिकै कुम जोडी बसेका एक पत्रकारको प्रश्नले भंग गरिदियो । प्रश्न कपिलकै शैलीमा थियो, ‘कमेडी नाइ्टस् विद कपिलमा त्यति धेरै सेलिब्रेटी ल्याउनुभो, हँसाउनुभो । नेपालको पनि योजना बन्यो, रद्द भो । के कहिल्यै यसरी मसँग होटल याक एन्ड यतीमा भेट हुन्छ भनेर सोच्नुभएको थियो ?’ प्रश्नमा कमेडी दम भए पनि उनलाई नेपाल ल्याउन व्यवस्थापनको काम गर्ने संस्थाका मान्छेहरूले कपिललाई अर्को समारोह (पार्टीर्) मा जान ढिलो भो भन्दै तान्न आइहाले । पशुपतिनाथको दर्शन गरेर आइतबार ३ बजे फर्किन थालेका उनले पार्टीमा एउटा गीत गाउन पनि भ्याए । तर, कपिल शैलीको प्रश्नको जवाफ भने अधुरो नै रह्यो । साभार : इकान्तिपुर डटकम

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.