‘कार्की साइँला’ २१ दिनमै प्याकअप


काठमाडौँ। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कार्की साइँला’को छायांकन सम्पन्न भएको छ। सुटिङ सुरु भएको २१ दिनमै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो।

निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरु गरिएको छायांकन सुनसरीको चतहरा र बराहक्षेत्र आसपासका क्षेत्रमा गरिएको थियो। करिब एक महिनाको सुटिङ सेड्युल तय गरिए पनि कलाकार र प्राविधिकको अथक मेहनतका कारण निर्धारित समयभन्दा अगावै छायांकन सम्पन्न गर्न सफल भएको उनले बताए।

फिल्ममा जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्ममा अभिनेता जितु नेपालको जोडीका रूपमा प्रियना आचार्य देखिएकी छन्। उनीहरूको यो पहिलो सहकार्य हो। यसअघि प्रियना आचार्यले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरिसकेकी छन्।

बालकुमार राई निर्माता रहेको यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापा रहेका छन् भने छायांकन डम्बर राईले गरेका छन्।

फिल्ममा द्वन्द निर्देशन किरण दाहालको, संगीत दिप्सन लिम्बुको तथा प्रोडक्सन सिबी भण्डारीको रहेको छ। फिल्मको प्रदर्शन मिति भने निर्माण टिमले हालसम्म घोषणा गरेको छैन।

Copyright © 2012 - 2026 | All Right Reserved.