
काठमाडौं। षट्कोण आर्ट्सको निर्माणमा तयार भएको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ यतिबेला दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। गत शुक्रबार सार्वजनिक गरिएको गीतले छोटो समयमै उल्लेखनीय दर्शक पाउँदै युट्युबमा करिब १५ लाख भ्यु नजिक पुगिसकेको छ।
गीतको लोकप्रियतासँगै सामाजिक सञ्जालमा यसको प्रभाव पनि बढ्दै गएको छ। विशेषगरी टिकटक र फेसबुक रील्स प्रयोगकर्ताबीच यो गीत निकै ट्रेन्डमा देखिएको छ। गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापा ले गरेको नृत्य अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उनीहरूको स्टेपलाई अनुकरण गर्दै हजारौँ प्रयोगकर्ताले आफ्ना भिडिओ बनाइरहेका छन्।
टिकटक र रील्समा बनेका भिडिओहरूमा प्रयोगकर्ताहरूले समाइरा र स्वस्तिमाको नृत्यशैलीको प्रशंसा गर्दै गीतको लय, स्वर र लोकभाकाको प्रयोगलाई समेत खुलेर तारिफ गरेका छन्। धेरैले नेपाली मौलिकताको झल्को दिने गीत प्रस्तुत गरेको भन्दै निर्माण टोलीलाई धन्यवादसमेत दिएका छन्।
गीतको तयारीबारे अभिनेत्री स्वस्तिमा खड्काले छायांकनकै बीचमा अभ्यास गरिएको बताइन्। उनका अनुसार दृश्यको सुटिङ सकिएपछि बाँकी समयमा नृत्यको रिहर्सल गरिन्थ्यो। बालकलाकार समाइराको नृत्यले आफूलाई पनि अझ मेहनत गर्न प्रेरणा दिएको उनले बताइन्।
उनले भनिन्, “समाइराले असाध्यै राम्रो नृत्य गरेकी छिन्। उनको ऊर्जा देख्दा मलाई पनि अझ राम्रो गर्नुपर्छ भन्ने लाग्थ्यो। हाम्रो सबैको मेहनतले गीत राम्रो बनेको छ, अहिले दर्शकले माया गर्नु खुशीको कुरा हो।”
गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्। गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरी को स्वर रहेको छ भने सङ्गीत पनि खेम सेन्चुरीकै हो। गीतका शब्द रमेश बिजी ले लेखेका हुन्। गायिका दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत पनि दर्शकमाझ निकै लोकप्रिय बनेको थियो।
फिल्म ‘लालीबजार’ आगामी वर्ष २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने तय भएको छ। बर्दियाको राजापुर क्षेत्रमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, प्रदीप ढकाल, जेबी रुवाली, हारुन अली, भूमिका थारु, सागर घिमिरे, झकेन बिसी, कुन्टललगायत कलाकारको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदी ले पनि डेब्यु गर्दैछन्। विशाल थियटरबाट आएका कलाकार हुन् भने प्रशंसा ‘जेनजी’ अभियन्ताको रूपमा परिचित छिन्।
निर्देशक यम थापा को कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा र संवाद यम थापा र निर्देशक प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका हुन्। निर्देशक थापाका अनुसार गीतलाई कथाको परिवेशसँग मिलाएर तयार गरिएको हो।
उनले भने, “यो गीत कथासँगै अघि बढ्ने गरी बनाइएको हो। दर्शकबाट पाइरहेको मायाले हामी निकै उत्साहित भएका छौँ।”
फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन्। फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापति, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी तथा सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ।


