चलचित्र ‘जिरो डिग्री’ को पोखराबाट छायाङ्कन सुरु


काठमाडौँ। नेपाली डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायाङ्कन पोखराबाट सुरु गरिएको छ। पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा विधिवत् शुभ मुहूर्त गर्दै फिल्मको क्यामेरा रोल गरिएको हो।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको पहिलो शटमा वरिष्ठ कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कथाकार तथा कलाकार राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए। निर्माण पक्षका अनुसार चलचित्रको सम्पूर्ण छायाङ्कन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका प्राकृतिक तथा मौलिक बस्तीहरूमा गरिनेछ। फिल्मको छायाङ्कन तालिका ३५ दिनको तय गरिएको छ।

‘जिरो डिग्री’को कथावस्तु नेपाली चलचित्र वृत्तमा फरक र रोचक मानिएको छ। सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नआउन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने अप्रत्याशित तथा व्यङ्ग्यात्मक घटनाक्रमहरूमा फिल्मको कथा केन्द्रित रहने बताइएको छ। चलचित्रलाई आकाश बराल र साजन काफ्लेले संयुक्त रूपमा निर्देशन तथा पटकथा लेखन गरेका हुन्। छायाङ्कन सुरु हुनु अघि नै फिल्मको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक भइसकेको छ।

फिल्ममा कलाकारहरूको बलियो टोली देखिनेछ। अभिनेता विजय बराल र अभिनेत्री सनिशा भट्टराईका साथै वरिष्ठ कलाकार वसुन्धरा भुसाल र रमेश बुढाथोकीको अभिनय रहनेछ। त्यस्तै प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायत कलाकारहरू पनि फिल्ममा देखिनेछन्। चलचित्रको कास्टिङ सन्जोग रसाइलीले गरेका हुन्।

मोती कार्की कार्यकारी निर्माताका रूपमा आबद्ध रहेको यस फिल्मको छायाङ्कन निशाल पौडेलले गर्नेछन् भने सम्पादन चानस पुन मगर र रङ्ग संयोजन राजेन्द्र मोक्तानले सम्हाल्नेछन्। चलचित्रमा अङ्कित बाबु अधिकारीको सङ्गीत तथा युवराज काफ्लेको शब्द रहनेछ। वितरणतर्फ कुबेर सिने डिस्ट्रिब्युसनले काठमाडौं उपत्यका बाहिर र डिसिएनले उपत्यकाभित्र प्रदर्शन व्यवस्थापन गर्ने जनाइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.