रेखाको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु


काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । गत फाल्गुन ३ गते महाशिवरात्रीको अवसर पारेर निर्माण घोषणा गरिएको यस चलचित्रको सोमबार काठमाडौंको शिवपुरी नेशनल पार्कबाट सुटिङ आरम्भ गरिएको हो ।

‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी रेखा थापा झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । यस चलचित्रमा रेखाको एउटा भिन्न परिचय देखिनेछ, उनी यसपटक क्यामेराको अगाडि (अभिनयमा) नभई पूर्ण रूपमा निर्देशनमा मात्र केन्द्रित रहनेछिन् । चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको ठूलो टोली समेटिएको छ । चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र लामो समयपछि चलचित्रमा फर्किएका अभिनेता दिल श्रेष्ठ मुख्य भूमिकामा छन् ।

यस चलचित्रको अर्को मुख्य आकर्षण भनेको तीनजना पूर्व मिस नेपालहरूको उपस्थिति हो । सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहले यस चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्दैछन् । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ । ध्रुव लम्सालको लेखन रहेको यो चलचित्रले प्रेमको वास्तविक परिभाषा खोज्ने प्रयास गर्नेछ । लेखक लम्साल पनि करिब एक दशकपछि सिनेमा लेखनमा फर्किएका हुन् ।

चलचित्रलाई सुदीप बरालले छायांकन गर्दैछन् भने अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् । चलचित्रमा राजन घिमिरेले फिल्म कोअर्डिनेटरको जिम्मेवारी सम्हालेका छन् भने प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन र प्रिया कार्कीको मेकअप रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.