
काठमाडौं। आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ यतिबेला दर्शकमाझ निकै चर्चामा रहेको छ। सार्वजनिक भएको करिब दुई सातामै गीतले युट्युब र सामाजिक सञ्जालमा उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ।
देशमा चुनावी माहोल चलिरहेका बेला अधिकांशको ध्यान मतदान र परिणामतर्फ केन्द्रित भए पनि यो गीतले भने आफ्नो लोकप्रियता कायम राख्न सफल भएको छ। सार्वजनिक भएको छोटो समयमै गीतको भ्युज युट्युबमा २१ लाख नाघिसकेको छ भने टिकटकमा यस गीतमा आधारित लाखौं भिडियो बनिसकेका छन्। यसले फिल्मको प्रचार र सम्भावित व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
निर्देशक माइकल चन्दको निर्देशनमा तयार भएको यस गीतको टिजर पनि छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ। गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डा. डीआर उपाध्यायको शब्द तथा बाबुल गिरीकै संगीत रहेको छ।
रोमान्टिक शैलीमा तयार गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टलाई फिचर गरिएको छ। भिडियोमा उनीहरूबीचको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ।
गीतले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएपछि निर्देशक माइकल चन्द उत्साहित देखिएका छन्। उनका अनुसार चुनावी माहोलका कारण गीत सार्वजनिक गर्ने समयबारे सुरुमा केहीले प्रश्न उठाए पनि निर्माण टिम गीत सफल हुनेमा विश्वस्त थियो। अहिले दर्शकले गीतलाई व्यापक रूपमा रुचाएको देख्दा आफूहरू निकै खुसी भएको उनले बताएका छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुन् भने मोती कार्की क्रियटिभ प्रोड्यूसरका रूपमा छन्।
फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत समावेश छ। माइकल चन्दकै कथा तथा पटकथामा बनेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ।
सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन सहयोग तथा साहिल खानले टिजर–ट्रेलर तयार गरेका छन्। स्क्रिप्ट सल्लाहकारका रूपमा अभिमन्यू निरवी र समय थपलियाको योगदान रहेको छ।
‘पर्दा पछाडिको पर्दा’ भन्ने थिममा निर्माण गरिएको फिल्ममा विराज भट्ट र सुपुष्पा भट्टका साथै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। एक्सन, सस्पेन्स र प्रेमकथाको मिश्रणमा फिल्म निर्माण गरिएको हो।

