‘एक मुठ्ठी बादल’ जेठ १ गते प्रदर्शनमा आउने




काठमाडौँ ।
नेपाली फिचर फिल्म ‘एक मुठ्ठी बादल’ आगामी वर्षको जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले मे १५ (जेठ १) लाई फिल्मको औपचारिक प्रदर्शन मिति घोषणा गरेको हो।

चलचित्रका अधिकांश प्रमुख विधामा महिलाको नेतृत्व रहेको यस फिल्मलाई गौथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो। नेपालभित्र यसको वितरण आरआर फिल्म्सले गर्नेछ।

तीन पुस्तासम्म फैलिएको भावनात्मक कथा प्रस्तुत गर्ने फिल्मले तीव्र रूपमा परिवर्तन भइरहेको नेपाली समाजको परिवेशमा परिवारभित्रका अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षाबीचको द्वन्द्वलाई रोचक ढंगले चित्रण गरेको छ।

फिल्मको लेखन तथा निर्देशन सहारा शर्माले गरेकी छन्। अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी सहाराले यसअघि ‘चेजिङ रेनबोज’ शीर्षकको फिल्म निर्देशन गरेकी थिइन्। उक्त फिल्म सन् २०१३ मा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको उद्घाटन चलचित्र बनेको थियो। फिक्सन फिचरमार्फत महोत्सव उद्घाटन गर्ने सबैभन्दा कान्छी महिला निर्देशकका रूपमा उनले इतिहास पनि रचेकी थिइन्। सोही महोत्सवको नेपाली प्यानोरामा खण्डतर्फको शीर्ष पुरस्कार समेत उनले जितेकी थिइन्।

‘एक मुठ्ठी बादल’ ले अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न उपलब्धि हासिल गरेको छ। चलचित्रले युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट (ह्युबर्ट बल्स फन्ड) प्राप्त गर्ने महिला निर्देशकद्वारा निर्देशित पहिलो नेपाली फिल्मको रूपमा इतिहास बनाएको छ। यसका साथै फिल्मले विश्वका प्रतिष्ठित फिल्म ल्याबहरूसँग सहकार्य गर्ने अवसर समेत पाएको थियो। सन् २०२१ मा निर्माता अभिमन्यु दीक्षितले भारतको एनएफडिसी फिल्म बजारमा रोटरड्याम ल्याब अवार्ड प्राप्त गरेका थिए।

फिल्मले फ्रान्सको कान फिल्म फेस्टिभल अन्तर्गत मार्शे दु फिल्मसँग सम्बन्धित कार्यक्रम, स्विट्जरल्यान्डको लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी तथा बंगलादेशको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा समेत सहभागिता जनाएको थियो।

चलचित्रका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल पनि संलग्न छन्। जर्मनीमा बसोबास गर्दै आएकी फाजिलातले आफ्नो कम्पनी थर्ड कल्चर किड्समार्फत युरोप र एसियाभर अन्तर्राष्ट्रिय स्तरका फिल्म तथा उदीयमान फिल्मकर्मीहरूलाई सहयोग गर्दै आएकी छन्।

फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

अभिनेत्री आँचल शर्माले ‘माइली’ पात्रमार्फत केन्द्रीय भूमिका निर्वाह गरेकी छन् भने वरिष्ठ अभिनेत्री निशा शर्मा तीन दशकभन्दा बढी समयपछि चलचित्र अभिनयमा फर्किएकी छन्। चलचित्रमा उषा रजक आँचलको दिदीको भूमिकामा देखिनेछिन्।

चलचित्र निर्माणमा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूको पनि सहभागिता रहेको छ। फिल्मको छायांकन भियतनामकी सिनेमाटोग्राफर लिन्ह डान गुयेन फानले गरेकी हुन्, जो फिचर फिल्म छायांकन गर्ने पहिलो भियतनामी महिला मानिन्छिन्। यो उनको सातौँ फिचर फिल्म हो। प्रोडक्सन डिजाइन भारतकी यशस्वी सभरवालले गरेकी छन्, जसले ‘अल वी इम्याजिन एज लाइट’ मार्फत कान फिल्म फेस्टिभलमा ग्रान्ड प्रिक्स जितमा योगदान पुर्‍याएकी थिइन्।

यसैगरी, फिल्मको सम्पादन भारतीय सम्पादक दीपा भाटियाले गरेकी हुन्, जो ‘तारे जमीन पर’ मा आफ्नो कामका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छिन्। चलचित्रको कलर ग्रेडिङ थाइल्यान्डको ह्वाइट लाइट पोस्ट–प्रोडक्सनले गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.