
काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मितज्यू’ को छायांकन सम्पन्न भएको छ। करिब एक महिनाअघि सुरु गरिएको छायांकन कार्य निर्धारित समयमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।
वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको थियो। निर्माता जनक घर्ती मगरका अनुसार कलाकार तथा प्राविधिक टोलीको समन्वयका कारण तोकिएको समयमै सुटिङ सम्पन्न गर्न सफल भएको हो।
दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय रहनेछ। यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
फिल्मको प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) रहेका छन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका छन्। छायांकन शिशिर बिशंखेले सम्हालेका हुन्।निर्माण टिमका अनुसार फिल्म आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।

