धुर्मुसको चलचित्र ‘सेन्टी भाइरस’ युट्युबमा सार्वजनिक


काठमाडौं । चुनावी माहोल चर्किँदै जाँदा राजनीतिक विषयवस्तु समेटिएका फिल्महरू युट्युबमा सार्वजनिक हुने क्रम बढ्दो छ । यसैक्रममा ‘दिमाग खराब’ र ‘झरीपछिको इन्द्रेणी’ पछि अब फिल्म ‘सेन्टी भाइरस’ पनि डिजिटल प्लेटफर्ममा आएको छ । फिल्म ओएसआर मुभिजको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबारदेखि हेर्न सकिने भएको हो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीति र चुनावको कथालाई केन्द्रमा राखेका फिल्महरू अनलाइन रिलिज हुनुलाई धेरैले समय सान्दर्भिक कदमका रूपमा हेरेका छन् । उल्लेखित तीनै फिल्मको कथावस्तुमा राजनीतिक परिवेश मुख्य आधार बनेको छ ।

सेन्टी भाइरस ले काभ्रे जिल्लाको एक गाउँमा हुने स्थानीय तहको चुनावको कथा प्रस्तुत गर्छ । गाउँस्तरको चुनावी प्रतिस्पर्धाले कसरी पारिवारिक सम्बन्धमा दरार ल्याउँछ भन्ने विषयलाई फिल्मले हास्यशैलीमा देखाएको छ ।

कथामा ध्रुवराम आफ्ना पार्टीका उम्मेदवारको समर्थनमा उभिन्छन् भने उनकी पत्नी जुनेली आफ्नै बाबु उम्मेदवार बनेपछि उनको पक्षमा लाग्छिन् । फरक राजनीतिक आस्थाका कारण दम्पतीबीच उत्पन्न वैवाहिक द्वन्द्वलाई फिल्मले मनोरञ्जनसँगै सामाजिक टिप्पणीका रूपमा प्रस्तुत गरेको छ ।

रामबाबु गुरुङ निर्देशित यो फिल्म सन् २०२० मा प्रदर्शनमा आएको थियो । प्रदर्शनकै क्रममा देशभर कोभिड–१९ का कारण लकडाउन सुरु भएपछि यसको व्यावसायिक यात्रा प्रभावित बनेको थियो । समीक्षकबाट भने फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो ।

मुख्य भूमिकामा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) देखिएका छन् । हाल अमेरिकामा रहेका धुर्मुसले समेत सामाजिक सञ्जालमार्फत फिल्मको युट्युब लिंक साझा गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.