
काठमाडौं । फ्रेन्डस् सिनेमाले आफ्नो सञ्जाल विस्तार गर्दै तेस्रो शाखा इलाममा सञ्चालनमा ल्याउने भएको छ। यसअघि धरान र बुटवलमा सेवा दिँदै आएको कम्पनीले अब पहाडी जिल्ला इलाममा आधुनिक चलचित्र घर सुरु गर्न लागेको हो।
इलाम नगरपालिका–७ स्थित नयाँ हल आउँदो शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ। फ्रेन्डस् सिनेमाका निर्देशक आशिस एच तामाङका अनुसार करिब साढे तीन करोड रुपैयाँ लगानीमा निर्माण गरिएको यस हलमा एक स्क्रिन र १९० सिट क्षमता रहेको छ। सञ्चालनका लागि चलचित्र विकास बोर्डबाट अनुमति प्राप्त भइसकेको छ।
तामाङका अनुसार सिनेमा ठूला सहरमै सीमित भइरहेका बेला ग्रामीण तथा पहाडी क्षेत्रमा पनि दर्शकलाई हलसम्म ल्याउने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता देखिएकाले इलाम रोजिएको हो। “बजार विस्तारको कुरा गर्ने तर हल भने सीमित सहरमै राख्ने प्रवृत्ति बदलिनुपर्छ,” उनले भने, “यदि हरेक जिल्लामा सुविधासम्पन्न सिनेमा घर स्थापना गर्न सकियो भने नेपाली चलचित्रको घरेलु बजार उल्लेख्य रूपमा विस्तार हुन सक्छ।”
उनले आगामी दिनमा अन्य जिल्लामा पनि शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिए। उनका अनुसार ठूला सहरबाहेकका दर्शक अझै पनि हलसम्म पहुँचबाट टाढा छन्, त्यसैले जिल्लास्तरमै साना तर व्यवस्थित हल स्थापना गर्न सके वर्तमान अवस्थामै पनि घरेलु बजार दोब्बरभन्दा बढी वृद्धि हुन सक्ने सम्भावना छ।

