
काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज फागुन १ गतेबाट तिन चलचित्र ‘बिगुल’,’श्री बुकुरो’ र ‘शिवांश’ प्रदर्शनमा आएका छन्। यी तिनै चलचित्र फरक जनरामा बनेका छन्। सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको ‘श्री बुकुरो’ घर, परिवार र समाजको सम्बन्धमाथि केन्द्रित छ। पुरानो थातथलो जोगाइराख्ने आवश्यकता, पारिवारिक प्रेम, सम्बन्धमा देखिने दूरी तथा जीवनका भावनात्मक द्वन्द्वलाई कथामा समेटिएको छ।
फिल्ममा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी मुख्य भूमिकामा देखिएकी छन्। उनीसँगै आशीर्वाद बी. क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारको अभिनय रहेको छ।

रुबी सेन सिंहको लगानीमा निर्माण भएको सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको छ। फिल्मको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर तथा काठमाडौँका विभिन्न स्थानमा गरिएको हो।
रमेश कोइरालाको निर्देशन रहेको चलचित्र ‘बिगुल’ का निर्माता दिनेश कोइराला हुन्। म्याग्नेलिया ग्रुपको ब्यानरमा कल्पना पौडेल प्रस्तुतकर्ता रहेको ‘बिगुल’ मा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, सरोज खनाल, शिशिर वाङ्देल, रबिन्द्र खड्का, बिनोद न्यौपाने, गीता अधिकारी, जेएन घिमिरे, मानसी शर्मा तथा नव अभिनेत्री मीरा पण्डितलगायतको अभिनय रहेको छ ।

प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्मको छायांकन शिव ढकालले गरेका हुन् । संगीत अर्जुन पोखरेल, विश्वप्रकाश शर्मा र मनोज चौलागाईंको रहेको छ भने कोरियोग्राफी कमल राई र कविराज गहतराजको छ । तारा थापा किम्भेले सम्पादन गरेको फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
चलचित्र ‘शिवांश : च्याप्टर १’ अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा बनेको छ। चलचित्रका निर्देशक सन्तोष कुमार आत्रेय हुन्। प्रविण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुशा न्यौपाने मुख्य भूमिकामा रहेको यस चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला लगायत कलाकारको अभिनय छ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूको छ। अञ्जान केसी स्वयं निर्माता रहेको यस सिनेमामा शोभा भण्डारी र अनिस केसी बोगटी सह–निर्माता तथा सम्भू थापा कार्यकारी निर्माता छन्।

