
काठमाडौँ। लामो समयदेखि मेकअप आर्टिष्टका रूपमा सक्रिय रेनु पुन मगर (जमुना पुन मगर)ले काठमाडौँको गोंगबु–टोखा रोडस्थित नर्थ पार्क प्लाजामा ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’ औपचारिक रूपमा सञ्चालनमा ल्याएकी छन्। बुधबार आयोजित कार्यक्रममा चलचित्र अभिनेता धिरेन शाक्य, वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठ, र्याप गायक निर्णय एनएचके तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले संयुक्त रूपमा रिबन काट्दै सलुनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै सलुन तथा क्याफेका सञ्चालक ज्याक बुढाथोकीले नर्थ पार्क प्लाजा वरपरका ग्राहकलाई लक्षित गर्दै सलुनसँगै क्याफे सेवा पनि सुरु गरिएको जानकारी दिए। सलुनकी अध्यक्ष तथा मेकअप आर्टिष्ट रेनु पुन मगरले महिला तथा पुरुष दुवैका लागि सौन्दर्य, हेयर, स्किन र मेकअपसम्बन्धी अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराइने बताउँदै उद्घाटनको अवसरमा विशेष छुटको व्यवस्था गरिएको उल्लेख गरिन्।
कार्यक्रममा अभिनेता धिरेन शाक्यले आफू सौन्दर्यप्रति सचेत रहने गरेको उल्लेख गर्दै आधुनिक सुविधायुक्त यस सलुनलाई आफ्ना लागि नयाँ गन्तव्यका रूपमा लिएको बताए। वरिष्ठ ब्युटिसियन कमला श्रेष्ठले रेनुले करिब १६ वर्षअघि आफूबाट मेकअप सीप सिकेको स्मरण गर्दै आज सफल व्यवसायीका रूपमा स्थापित भएकोमा खुसी व्यक्त गरिन् र नयाँ पुस्तालाई पनि यस क्षेत्रमा अघि बढ्न प्रेरित गरिन्।
सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले पछिल्ला वर्षहरूमा ब्युटिसियन पेसा औपचारिक शिक्षासँग जोडिँदै गएको उल्लेख गर्दै जे एन्ड जे सलुनले गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे। कार्यक्रममा गायिका मञ्जु पौडेलले रेनुको संघर्ष र सफलताको यात्रा प्रस्तुत गरेकी थिइन् भने रेनुकी आमाले शुभकामना व्यक्त गरेकी थिइन्।
दुई दशकदेखि ब्युटी क्षेत्रमा सक्रिय रेनु पुन मगरले गुल्मीबाट सुरु गरेको आफ्नो पेशागत यात्रा काठमाडौँमा विशेष तालिम र स्टुडियो सञ्चालन हुँदै अहिले युनिसेक्स सलुन तथा क्याफेसम्म विस्तार गरेकी हुन्।

