एआई प्रयोगमार्फत ऐतिहासिक कथा ‘कार्तिक’ को ट्रेलर सार्वजनिक


काठमाडौं । परम्परागत रूपमा दृश्यांकन गर्न कठिन मानिने विषयवस्तुलाई कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत प्रस्तुत गर्ने उद्देश्यसहित बहुराष्ट्रिय निर्माण संस्था क्वीन बर्ड क्रिएसनले ‘कार्तिक’ शीर्षकको शर्ट फिल्म निर्माण गरेको छ । निर्माण टिमका अनुसार यो पूर्ण रूपमा एआई प्रविधिबाट तयार गरिएको छोटो फिल्म हो। शर्ट फिल्म ‘कार्तिक’ को एक मिनेट १२ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ।

१६औँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लको शासनकालमा पाटन दरबार क्षेत्रमा प्रचलित ऐतिहासिक ‘कार्तिक नाच’ बाट प्रेरित यस फिल्ममा एआई र जेनेरेटिभ आर्ट प्रविधिको प्रयोगमार्फत सिनेम्याटिक यथार्थता प्रस्तुत गरिएको छ। परम्परागत छायांकन प्रविधिबाट जटिल ठानिने दृश्यहरूलाई आधुनिक डिजिटल प्रविधिले सजीव बनाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।

फिल्मको निर्देशन तथा एआई एकीकरण नितिन चन्दले गरेका हुन्। निर्माण प्रक्रियामा क्वीन बर्ड क्रिएसन अष्ट्रेलियाका सदस्यहरू प्रदीप तिमल्सिना, कसिश दाहाल, सम्झना सापकोटा र राजेन्द्र घिमिरेको सहयोग रहेको छ। फिल्मको शीर्षक र संवाद अमरदीप सापकोटाले लेखेका हुन्।

निर्माता प्रदीप तिमल्सिनाका अनुसार ‘कार्तिक’ परियोजनाले एआईमा आधारित सिनेमाको सम्भावना उजागर गर्ने प्रयास गरेको छ। आगामी दिनमा ऐतिहासिक कथावस्तुमा आधारित थप परियोजनाहरू निर्माण गर्दै अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा सहभागी हुने योजना रहेको उनले बताएका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.