
काठमाडौं । दिनेश राउत निर्देशित हाल प्रदर्शनरत नेपाली फिल्म ‘कुमारी’ले समीक्षक तथा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। विशेष गरी फिल्म समीक्षकहरूले यसको प्रेमकथा, मौलिक कथावस्तु र सांस्कृतिक पक्षको खुलेर प्रशंसा गर्दै ४ स्टारसम्मको रेटिङ दिएका छन्।
प्रेमकथा र महिला संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्मलाई समीक्षकहरूले ‘धमाकेदार’ र ‘लामो समयपछि आएको उत्कृष्ट नेपाली फिल्म’को रूपमा व्याख्या गरेका छन्। समीक्षाहरूमा फिल्मको पटकथा र प्रस्तुतिको उच्च प्रशंसा गरिएको छ। एक समीक्षामा भनिएको छ, “यो फिल्म विशेष गरी छोरीहरूले हेर्नै पर्ने बनेको छ। केही पुरुष दर्शकहरूले कथाको गहिराइ तुरुन्तै नबुझे पनि महिला दर्शकका लागि भने यो फिल्म अत्यन्तै मर्मस्पर्शी र अर्थपूर्ण छ।”
फिल्मले सामाजिक संस्कार, परम्परा र संस्कृतिलाई पर्दामा सुन्दर र कलात्मक ढङ्गले प्रस्तुत गरेको भन्दै समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। समीक्षकहरूका अनुसार फिल्मको मुख्य सबल पक्ष यसको कथा वाचन शैली हो। यसले महिलाहरूको कुमारीत्वको महत्त्व र त्यससँग जोडिएका पारिवारिक, सामाजिक तथा मनोवैज्ञानिक पक्षलाई गहिराइमा प्रस्तुत गरेको छ।
समीक्षकहरूले फिल्मको सस्पेन्स र भावनात्मक प्रस्तुति दर्शकलाई अन्तिमसम्म बाँधिराख्न सफल भएको बताएका छन्। प्राविधिक पक्ष र कलाकारहरूको अभिनयको समेत प्रशंसा गर्दै यसलाई ४ स्टार योग्य फिल्म भनिएको छ। समीक्षकहरूले यसलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई गम्भीर सामाजिक विमर्शको सुरुआत गर्ने फिल्मको रूपमा लिएका छन्। परम्परागत लभ–स्टोरीभन्दा फरक शैली अपनाउँदै प्रेम र समाजमा अन्तर्निहित महिला संवेदनालाई उत्कृष्ट रूपमा प्रस्तुत गरिएको उनीहरूको निष्कर्ष छ।
फिल्ममा अभिषेक खड्का, आकृति राजभण्डारी, मधु खड्का लगायतका कलाकारहरूको अभिनयले कथालाई जीवन्त बनाएको छ। युवा पुस्ताको अपेक्षा र रोजाइलाई सम्बोधन गर्न सफल भएकाले हलहरूमा युवा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ।
समग्रमा, मौलिक नेपालीपन, सशक्त अभिनय र बलियो पटकथाको खोजीमा रहेका दर्शकहरूका लागि ‘कुमारी’ एक ‘मस्ट वाच’ फिल्म बनेको समीक्षकहरूको निष्कर्ष छ।

