
काठमाडौँ। नेपाली चलचित्रका लोकप्रिय कलाकार तथा ‘राते काइँला’ नामले परिचित सुनिल थापाको निधन भएको छ। ६६ वर्षका थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा हृदयाघातका कारण निधन भएको हो। शंखमूलस्थित आफ्नै अपार्टमेन्टमा बस्दै आएका उनी अचानक अस्वस्थ भएपछि अस्पताल पुर्याइए पनि उपचारकै क्रममा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।
तीन दशकभन्दा बढी समय अभिनयमा समर्पित थापाले करिब ३ सयभन्दा धेरै फिल्ममा अभिनय गरेका थिए। उनको पछिल्लो रिलिज चलचित्र ‘एक्लो’ पुष १७ गते प्रदर्शनमा आएको थियो। निधन अघिसम्म उनी एक्सन फिल्म ‘राम नाम सत्य’को छायांकनमा व्यस्त थिए, जुन अब उनको अन्तिम चलचित्रका रूपमा रहने भएको छ।
अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाएका थापाले सन् २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाका प्रशिक्षकको भूमिकामार्फत विशेष चर्चा कमाएका थिए। यसै भूमिकाले उनलाई बलिउडमा सशक्त चरित्र अभिनेताको रूपमा स्थापित गराएको थियो। केही साताअघि मात्रै उनी अभिनीत हिन्दी वेब सिरिज ‘द फेमिली म्यान ३’ ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको थियो।
नेपाली चलचित्रमा खलनायक भूमिकाका लागि विशेष परिचित थापाले ‘लोभी पापी’, ‘दर्पण छायाँ’, ‘मुखिया’, ‘सेतो बाघ’, ‘बलिदान’, ‘चिनो’, ‘नेपाली बाबु’ र ‘ठूल्दाई’ लगायतका फिल्ममा स्मरणीय अभिनय गरेका छन्। पछिल्लो समय अभिनयसँगै उनले काठमाडौंमा एभरेस्ट फिल्म एकेडेमी सञ्चालन गर्दै नयाँ पुस्तालाई प्रशिक्षण दिँदै आएका थिए।
उनको निधनसँगै नेपाली चलचित्र क्षेत्रले एक अनुभवी र प्रभावशाली कलाकार गुमाएको छ। फिल्मकर्मी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। थापाको अन्त्येष्टि शनिबार साँझ पशुपति आर्यघाटमा गरिने बताइएको छ।

