महाशिवरात्रिमा ‘शिवांश : च्याप्टर १’ रहस्य, आस्था र अपराधको टकराव


काठमाडौं । महाशिवरात्रिको पावन अवसर पारेर फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ। अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा बनेको यस चलचित्रको ट्रेलरले शिवको भेषमा गरिने आपराधिक गतिविधि र त्यसभित्र लुकेको भयावह सत्यलाई उजागर गरेको छ।

साधु–जोगीको आवरणमा लुकेर समाजमा अपराध फैलाउने पात्रहरूको मनोविज्ञान ट्रेलरको केन्द्रमा देखिन्छ। बाहिरबाट संसारिक मोह त्यागी साधुजस्तो देखिने पात्र भित्रभित्रै कति निर्दयी र हिंस्रक हुन सक्छ भन्ने कुरा ट्रेलरले गहिरो रूपमा चित्रण गरेको छ। जोगीको भेषमा गरिएको हत्याजस्ता जघन्य अपराधले सिनेमाको कथालाई रहस्यमय र भयावह बनाएको संकेत पाइन्छ।

ट्रेलरमा अभिनेता प्रविण खतिवडाको रूप, हाउभाउ र अभिनय विशेष प्रभावशाली देखिन्छ। खरानीले लपेटिएको शरीर, हातमा त्रिशूल र आँखामा देखिएको उन्मादले उनलाई एक शक्तिशाली, रहस्यमयी र खतरनाक ‘एन्टी–हिरो’का रूपमा प्रस्तुत गर्छ। कुनै दिव्य शक्ति वा सिद्धि प्राप्त गर्ने तीव्र लालसामा डुबेको साधुको रूपमा उनको चरित्रले दर्शकको जिज्ञासा बढाउँछ।

तेज गिरी, विकास जोशी र रुशा न्यौपानेका पात्रहरूले कथालाई अझै रहस्यमय बनाएका छन्। निर्देशक सन्तोष कुमार आत्रेयको फरक र भव्य निर्देशन शैली ट्रेलरमै अनुभूत गर्न सकिन्छ। छायांकन, पृष्ठभूमि संगीत र भीएफएक्समा गरिएको मेहनतले चलचित्रलाई प्राविधिक रूपमा पनि बलियो बनाएको छ।

चलचित्रको अर्को विशेष आकर्षण भनेको भारतीय चर्चित गायक कैलाश खेरको स्वर र संगीत हो। ट्रेलरमा प्रयोग गरिएको पृष्ठभूमि संगीत र मन्त्रोच्चारणले आध्यात्मिक र रहस्यमय वातावरण सिर्जना गरेको छ।

प्रविण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुशा न्यौपाने मुख्य भूमिकामा रहेको यस चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला लगायत कलाकारको अभिनय छ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूको छ। अञ्जान केसी स्वयं निर्माता रहेको यस सिनेमामा शोभा भण्डारी र अनिस केसी बोगटी सह–निर्माता तथा सम्भू थापा कार्यकारी निर्माता छन्।

गीत–संगीततर्फ विप्लव प्रतीक र राजनराज शिवाकोटीको शब्द, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत तथा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ। सरद महतो डीओपी, बनिश शाह सम्पादक, मिलन श्रेष्ठ द्वन्द्व निर्देशक र विक्रम चोहान कोरियोग्राफर रहेका छन्।

पौराणिक विषयवस्तुमा आधारित ‘स्पिरिचुअल एक्सन ड्रामा’ नेपाली चलचित्रमा कमै बन्ने गरेका छन्। यही कारणले पनि ‘शिवांश : च्याप्टर १’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ। महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएकाले यो चलचित्र शिवभक्त र सिनेप्रेमी दुवैका लागि विशेष आकर्षण बन्न सक्ने देखिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.