‘श्री बुकुरो : द होम कलिङ’को भावुक ट्रेलर सार्वजनिक


काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। ग्रामीण परिवेशमा आधारित यो सिनेमाले पारिवारिक माया, अपनत्व, मिलन र स–साना द्वन्द्वलाई आत्मीय शैलीमा प्रस्तुत गरेको देखिन्छ।

काव्यात्मक न्यारेसनमा तयार पारिएको ट्रेलरले पात्रहरूको चाहना, सपना र भावनात्मक उतार–चढावलाई प्रभावकारी रूपमा समेटेको छ। मुख्य पात्र लक्ष्मी गिरीको चरित्र वरिपरि घुम्ने ट्रेलरमा एउटा सानो ‘बुकुरो’ (घर) बनाउने चाहना, छोराहरूको विवाह र उनीहरूको सुख–दुःखलाई केन्द्रमा राखिएको छ।

करिब ३ मिनेट ३३ सेकेन्ड लामो ट्रेलरले पात्रहरूको मनोदशासँगै दर्शकलाई कथाको यात्रामा डोर्याउँछ। मानवीय सम्बन्धका सूक्ष्म पक्षलाई उजागर गर्दै ट्रेलरले सिनेमाको कथावस्तुबारे झलक दिने काम गरेको छ। निर्माण टिमले यसलाई विशुद्ध पारिवारिक र मनोरञ्जनात्मक सिनेमा रूपमा प्रस्तुत गरेको जनाएको छ।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको यो सिनेमा निर्देशक सिंहको करिब ९ वर्षपछि निर्देशनमा पुनरागमन हो। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए।

पछिल्लो समय सामाजिक–पारिवारिक सिनेमाप्रति दर्शकको आकर्षण बढिरहेको सन्दर्भमा ‘श्री बुकुरो’को कथा पनि दर्शकले रुचाउने विश्वास निर्देशक सिंहले व्यक्त गरेका छन्। यसअघि सार्वजनिक टिजर र पोस्टरले सकारात्मक चर्चा बटुलिसकेको यस सिनेमाका गीतले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ।

फिल्म रेञ्जको ब्यानरमा बनेको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय रहेको छ। निर्देशक सिंह स्वयंको लेखन रहेको यो सिनेमाको निर्माण रुबी सेन सिंहले गरेकी हुन्।

सिनेमामा सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन तथा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको छ। मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको सिनेमामा किशोर भट्ट, कुलदीप शर्मा र प्रेम खतिवडा सहायक निर्देशक रहेका छन्। रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.