विकास बोर्डले एक हप्ते घोडचढी तालिम सञ्चालन गर्दै


काठमाडौँ। चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकार तथा प्राविधिकहरूको सीप विकास गर्ने उद्देश्यले एक हप्ते घोडचढी तालिम सञ्चालन गर्ने भएको छ। उक्त तालिम मङ्सिर २४ गतेदेखि सुरु हुनेछ ।

ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढी एक अत्यावश्यक सीपका रूपमा स्थापित हुँदै गइरहेको वर्तमान सन्दर्भमा, कलाकार र स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने लक्ष्यसहित यो तालिम आयोजना गरिएको हो।

उक्त तालिम कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न चर्चित तथा अनुभवी कलाकारहरूको सहभागिता रहनेछ। तालिम अवधिभर व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड, घोडासँगको तालमेल, क्यामेरासँगको समन्वय तथा एक्शन दृश्यका लागि आवश्यक आधारभूत सीपमा प्रशिक्षण प्रदान गरिनेछ।

यस सन्दर्भमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले भने “नेपाली चलचित्रमा ऐतिहासिक, पौराणिक र एक्शन कथावस्तु बढ्दै गएको सन्दर्भमा घोडचढी जस्तो सीप अब वैकल्पिक होइन, अनिवार्य बन्दै गएको छ। कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने उद्देश्यले यो तालिम सुरु गरिएको हो। यसले चलचित्रको गुणस्तर बढाउनुका साथै नेपाली सिनेमाको अन्तर्राष्ट्रिय स्तर उकास्न सहयोग पुर्‍याउँछ।”
चलचित्र विकास बोर्डले यस तालिममार्फत नेपाली चलचित्र उद्योगको उत्पादन गुणस्तर, सुरक्षा र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.