
काठमाडौं । निर्देशक अनिल बुढा मगरको दोस्रो चलचित्र ‘मितज्यू’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको छ।
धार्मिक विधिपूर्वक पूजा गरी पहिलो दृश्य खिच्दै फिल्मको यात्रा सुरु गरिएको हो। निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो। फिल्मको छायांकन दाङ र रोल्पाका विभिन्न स्थानमा गरिनेछ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य भूमिका रहनेछ। साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगरलगायत कलाकारको अभिनय रहनेछ।
फिल्मका मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, सम्पादक लोकश बज्राचार्य, छायांकन निर्देशक शिशिर विशंखे, द्वन्द्व निर्देशक प्रभात विष्ट र साउन्ड डिजाइनर नवीन श्रेष्ठ रहेका छन्। संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। आरआर फिल्म्सको वितरणमा रहने ‘मितज्यू’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

