
काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले आज मुख्य दुई कलाकार अनुबन्ध गरेको हो ।
अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन् । निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ । यो चलचित्रले नेपाली बक्स अफिसमा झण्डै ५० करोड भन्दा बढीको व्यापार गरेर इतिहास रचेको छ ।
अन्य कलाकार विस्तारै अनुबन्ध गर्दै जाने निर्देशक पौडेलले बताए । “सिन्दुरे जात्रामा अब हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गराउँदै जानेछौँ,” निर्देशक सरोजले भने, “अबको केही समयमा हामी कलाकार फाइनल गरेर अरु काम सुरु गर्नेछौँ ।”
चलचित्रलाई राम्रो बनाउन कुनै पनि कसर बाँकी नराख्ने उनले बताए । कलाकार छनोटमा कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ ।आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।

