चोभारमा पूजाको आइटम डान्ससँगै ‘कल्ली’को छायांकन सम्पन्न


काठमाडौं । फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘कल्ली’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। चोभारमा एक गीतको छायांकन सकेसँगै फिल्मको सुटिङ प्याकअप गरिएको निर्माणपक्षले जनाएको छ। अभिनेत्री पूजा शर्माको आइटम डान्स समेटिएको गीत दुई दिन लगाएर खिचिएको हो। सोही गीतसँगै करिब ६० दिन लामो छायांकन सकिएको निर्माता किरण नेपालीले जानकारी दिए। चलचित्रको मुख्य छायांकन जुम्लामा गरिएको हो।

पूजाले ‘क्या राम्री’ बोलको गीतमा नृत्य गरेकी छन्। आशिष अविरलको संगीत रहेको उक्त गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। आशिष अविरल र मेलिना राईको स्वर तथा सुरेन्द्र रानाको शब्द रहेको गीत सुन्नासाथ मन परेकाले आफूले काम गरेको शर्माले बताइन्। विवाहपश्चात पूजाले यही गीतमार्फत पहिलो पटक पर्दामा नृत्य प्रस्तुत गरेकी हुन्। करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा आफू निकै उत्साहित रहेको उनको भनाइ छ।
गीतको भिडियोमा पूजासँगै नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारती पनि देखिएका छन्।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा बनेको ‘कल्ली’मा लक्ष्मण सुनारको कथा तथा निर्देशन र महेश दवाडीको लेखन रहेको छ। फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ। साथै, उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रूपमा देखिनेछन्।

निसाल पौडेल डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन तथा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत समावेश छ। फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्।

यसअघि सार्वजनिक गरिएको ‘कल्ली’को टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। देवता र राक्षसबीचको कथावस्तुमा आधारित फिल्मको उक्त गीत पनि केही समयभित्र सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.