सुशील–अञ्जना अभिनित ‘परिवर्तन’को अग्रिम बुकिङ खुला, देशभर १०० भन्दा बढी शो


काठमाडौं । यही माघ ९ गते अर्थात् शुक्रबारबाट प्रदर्शनमा आउन लागेको एक्सन–सस्पेन्स फिल्म ‘परिवर्तन’ को अग्रिम बुकिङ खुला भएको छ। देशभरका अधिकांश चलचित्र हलहरूले बुकिङ खुला गरिसकेका छन् भने केही हलले अझै प्रि–बुकिङ खोल्न बाँकी रहेको जनाइएको छ।

देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यका तथा बाहिरका हलहरूमा गरी फिल्मलाई ३२ शो उपलब्ध गराएको छ। त्यसैगरी दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले १५ शो प्रदान गरेको छ।

यस्तै, वान सिनेमाजले ९, एफक्यूबले ४ र बिग मुभिजले ३ शोको बुकिङ खुलाएको छ। यो समाचार तयार पार्दासम्म ‘परिवर्तन’ले देशभर १०० भन्दा बढी शो पाइसकेको छ भने केही हलको बुकिङ अझै खुल्न बाँकी छ।

फिल्मका गीत र ट्रेलर पछिल्लो समय दर्शकमाझ चर्चामा छन्। विशेषगरी फिल्ममा समावेश गीत ‘पाकेको चिउरी’ अत्यन्त लोकप्रिय बनेको छ। साथै, सार्वजनिक ट्रेलरलाई छोटो समयमै ११ लाखभन्दा बढी पटक हेरिएको छ।

फिल्ममा सुशील श्रेष्ठ र अञ्जना बराइलीको मुख्य अभिनय रहेको छ। साथै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको समेत अभिनय रहेको छ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथामा आधारित फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।

एक्सन–सस्पेन्स विधामा निर्माण भएको यस फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र एसडी योगीको संगीत रहेको छ। फिल्मको द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका हुन्, जो पछिल्लो समय द्वन्द्व निर्देशनमा निकै चर्चामा छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.