चलचित्र ‘आ बाट आमा’को भावुक ट्रेलर सार्वजनिक


काठमाडौं । माघ १६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै फिल्मको भावनात्मक कथाको झलक प्रस्तुत गरेको हो।

सार्वजनिक ट्रेलरले पछिल्लो समय नेपालमा देखिएको एक यथार्थ,देशमै अवसर नपाएर परदेशिन बाध्य युवा पुस्ताको कथा उठान गरेको छ। राम्रो भविष्यको खोजीमा विदेश जाने छोराको निर्णय र त्यसले आमाबाबुको मनमा पारेको भावनात्मक असर ट्रेलरको केन्द्रमा छ।

फिल्ममा आमाको भूमिकामा विपना थापा देखिएकी छन् भने बुबाको चरित्रमा भारतीय वरिष्ठ अभिनेता प्रदीप रावत प्रस्तुत भएका छन्। छोराको भूमिकामा अभिनेता पल शाह देखिन्छन्। ट्रेलरमै उनीहरूबीचको आत्मीयता, माया र बिछोडको पीडा गहिरोसँग महसुस गर्न सकिन्छ।

ग्रामीण परिवेशमा हुर्किएका आमाबाबु र सन्तानबीचको सम्बन्धलाई मुख्य आधार बनाएर निर्देशक चन्द्र पन्तले कथा अघि बढाएका छन्। फिल्मको स्लोगन— “बा–आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं” ले बाध्यताले विदेशिनुपरेका नेपाली युवाको यथार्थ कथा बोलेको छ।

ट्रेलरमा साथीभाइको उक्साहट, विदेश मोह र त्यसपछि सुरु हुने पारिवारिक द्वन्द्व वरिपरि कथा घुमेको देखिन्छ। अध्ययन र भविष्यको नाममा अस्ट्रेलिया जाने निर्णयले परिवारमा ल्याउने भावनात्मक उतारचढावलाई ट्रेलरले प्रभावकारी ढंगले प्रस्तुत गरेको छ।

निर्देशक चन्द्र पन्तकै लेखन तथा पटकथामा बनेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, विशाल पहाडी, रविन्द्र झा, साइग्रेस पोखरेल, सिम्रन पन्त, गजित बिष्ट, हेमराज अधिकारी, उषा उप्रेती, दिलिप अखेडा लगायतका कलाकारको अभिनय रहेको छ।

कार्यकारी निर्माता करण सिंह हुन् भने ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना, कृष्णप्रसाद सुवेदी र ओमकार पन्त हुन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘आ बाट आमा’को छायांकन नवराज उप्रेतीले गरेका छन्। फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। यसको वितरण अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.