
काठमाडौँ । जर्जियाको तिब्लिसीमा सम्पन्न आठौं संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’मा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन् । ‘डिसएस स्टार सिजन १६’ को डान्सिङ विधाको विजेता समृद्धिले ७ देखि १० वर्षको उमेर समूहको प्रतियोगितामा विश्वभरका ४० बढी देशका प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष ताज पहिरिएकी हुन् । समृद्धि काठमाडौंको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा कक्षा ४ मा पढ्छिन् ।
प्रतियोगितामा समृद्धिसँगै गएका ‘डिएसए स्टार सिजन १५’का विजेता प्रनिक थापाले ‘ग्राण्ड प्रिक्स ट्यालेन्ट’ उपाधि जिते । प्रनिक नागार्जुनस्थित काठमाडौं भ्याली स्कुलमा कक्षा ३ पढ्छन् ।
प्रतियोगिता गत ८ देखि १३ जनवरीसम्म भएको थियो । नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रनिक र समृद्धिलाई जर्जिया पठाएको थियो । उनीहरुसँगै संस्थाका निर्देशक राज बराइली पनि जर्जिया गएका थिए । प्रतियोगितामा राज बराइलीले सर्वोकृष्ट अन्तर्राष्ट्रिय डाइरेक्टरको अवार्ड पाएका थिए ।
नेपाली प्रतियोगीले नेपाली कला, संस्कृतिको प्रस्तुतिसँगै नेपालको मौलिक खानाको प्रदर्शनीमा राखेका थिए । परिवर्तन इभेन्ट हाउसले यसअघि दुई पटक ‘वर्ल्ड राइजिङ स्टार’मा प्रतिनिधित्व गरिसकेको छ । दुई पटक नै नेपाली बालबालिका विश्व विजेता बनेका थिए ।

