माघे संक्रान्तिमा बक्स अफिस भिडन्त: ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’ रिलिज


काठमाडौं। माघे संक्रान्तिको अवसरमा आजबाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। पारिवारिक र पर्वको माहोललाई लक्षित गर्दै ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’ हलमा पुगेका हुन्।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको ‘मिरमिरे’ यार्सा फिल्मसको प्रस्तुति हो। चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको यस फिल्मका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। चलचित्रको कार्यकारी निर्माता तथा वितरक रोहित कट्टेल हुन् भने देशभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।

यस्तै, हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशनमा बनेको ‘गोबर गणेश’को कथा पनि निर्देशक स्वयंले तयार गरेका हुन्। बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा बनेको यस फिल्ममा बल्छीसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायतको अभिनय छ। चलचित्रको डीओपी शिवराम श्रेष्ठ र सम्पादन विपीन मल्लले गरेका हुन् ।

अर्कोतर्फ, निगम श्रेष्ठ निर्देशित ‘भाइरल गोर्खे’ एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको हो। फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। साथै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको अभिनय रहेको छ। चलचित्रको सिनेमेटोग्राफी अमर महर्जनले गरेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.