
काठमाडौं । चलचित्र वितरक रोहित कट्टेल चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय भएका छन्। लामो समयदेखि वितरण व्यवसायमा संलग्न कट्टेल चलचित्र ‘मिरमिरे’ मा कार्यकारी निर्माताको रुपमा जोडिएका छन् । उनी चलचित्र वितरण कम्पनी आरआर फिल्म्सका सञ्चालकसमेत हुन्।
वितरणबाट निर्माणतर्फ किन आकर्षित भए भन्ने प्रश्नमा कट्टेलले चलचित्रको कथाले आफूलाई गहिरो रूपमा छोएको बताउँछन्। उनका अनुसार राम्रो कथाले नै आफूलाई निर्माणमा हात हाल्न प्रेरित गरेको हो।
कट्टेल भन्छन्, “निर्माणको हिसाबले मिरमिरे मेरो तेस्रो चलचित्र हो। निर्देशक यम शेर्पाले कथा सुनाउँदा नै यो कथाले मलाई आकर्षित गर्यो। राम्रो कथामा आधारित चलचित्र बनाउन प्रस्ताव आउँदा सहकार्य नगर्ने कारण देखिनँ, त्यसैले लगानी गर्ने निर्णय गरेँ।” कट्टेलले यस अघि चलचित्र ‘कृष्णलीला’ र ‘बिहेपास’ दुइ चलचित्र निर्माण गरि सकेका छन्।
बुवा–छोरीको सम्बन्धलाई केन्द्रमा राखिएको कथाले आफूलाई भावनात्मक रूपमा छोएको कट्टेलको भनाइ छ। “यो कुनै एक घरको मात्र कथा होइन, हामी सबै नेपालीले भोग्दै आएको, देख्दै आएको कथा हो,” उनी भन्छन्, “त्यही कारण यो कथासँग म तुरुन्तै जोडिएँ।”

आगामी दिनमा पनि राम्रो कथामा आधारित चलचित्र निर्माणका लागि आफू सधैं तयार रहने उनले बताए। वितरण होस् वा निर्माण, गुणस्तरीय चलचित्र दर्शकमाझ ल्याउनु आफ्नो दायित्व भएको कट्टेलको धारणा छ।
यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मिरमिरे’ भोली माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ। यार्सा फिल्म्स को प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

