‘मिरमिरे’मा दयाहाङ राईकी छोरी बनेकी शाइसा गौचनको अभिनयले छोयो दर्शकको मन


काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक ट्रेलरमार्फत चलचित्रले दर्शकमाझ भावनात्मक प्रभाव छाड्न थालेको छ, जहाँ अभिनेता दयाहाङ राईसँगै एक बाल कलाकारको अभिनय विशेष रूपमा चर्चामा छ ।

ट्रेलरमा दयाहाङ राईकी छोरीको भूमिकामा देखिएकी बाल कलाकार हुन् शाइसा गौचन । आमाको अभावमा हुर्किरहेकी छोरीको संवेदनशील चरित्रमा शाइसाले देखाएको सहज र स्वाभाविक अभिनयले दर्शकको ध्यान खिचिरहेको छ । सानैमा आमाले छोडेपछि बुवाको काखमा हुर्किँदै गरेको बाल मनोविज्ञानलाई उनले प्रभावकारी रूपमा प्रस्तुत गरेकी छन् ।

पोखराकी शाइसा ‘मिरमिरे’मार्फत पहिलो पटक ठूलो भूमिकामा देखिएकी भए पनि यो उनको डेब्यु चलचित्र भने होइन । यसअघि उनले ‘महाभोज’ र ‘बरिष्ठ बलराम’ जस्ता चलचित्रमा छोटो भूमिका निभाइसकेकी छन् ।

लेखक तथा निर्देशक यम शेर्पाका अनुसार शाइसासँग काम गर्न सहज हुनुको एउटा कारण दयाहाङ राईसँग उनको अघिल्लो सहकार्य पनि हो । “यसअघि पनि शाइसाले दयाहाङ दाइसँग काम गरिसकेकी थिइन्, त्यसैले ‘मिरमिरे’मा उनीहरूबीचको सम्बन्ध पर्दामा स्वाभाविक देखियो,” यम भन्छन्, “नत्र सुरुवाती दिनमा बाल कलाकारलाई सहज बनाउनु चुनौतीपूर्ण हुन सक्थ्यो।”

शाइसाको अभिनयलाई लिएर निर्देशक यम निकै आशावादी देखिन्छन् । बाल दर्शकदेखि सबै उमेर समूहका दर्शकले उनको काम मन पराउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

यार्सा फिल्मसको प्रस्तुति रहेको ‘मिरमिरे’ मा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायत कलाकारको अभिनय रहेको छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन् । कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट तथा दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा रहेका छन् ।

चलचित्र ‘मिरमिरे’ को देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.