‘मिरमिरे’ : बुवा–छोरीको सम्बन्धभित्र लुकेको अभिभावकीय सपना


काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘मिरमिरे’लाई बुवा–छोरीको सम्बन्धमार्फत सन्तानप्रति अभिभावकले देख्ने भविष्य र मौन भावनाको कथा भएको बताएका छन्। छोरीसँग आफ्ना पीडा र चिन्ता लुकाउँदै बुवाले देखाउने बनावटी खुसी नै ‘मिरमिरे’को मूल भाव भएको दयाहाङको भनाइ छ।

चलचित्रमा बाहिरी रूपमा व्यक्त गर्न नसकिएका भावनालाई भित्री तहबाट कसरी प्रस्तुत गर्न सकिन्छ भन्नेमा आफू केन्द्रित रहेको उनले बताए। “यो चलचित्र झट्ट हेर्दा साधारण बुवा–छोरीको कथा जस्तो लाग्न सक्छ,” दयाहाङ भन्छन्, “तर गहिरिएर हेर्दा यसभित्र धेरै तहका भाव र अर्थ भेटिन्छन्। तुरुन्तै नदेखिने तर सोच्दा–सोच्दै महसुस हुने कथा भएकैले मैले यो चलचित्र रोजेको हुँ।”

उनका अनुसार ‘मिरमिरे’ अत्यधिक दुःख वा खुसी देखाउने फिल्मभन्दा पनि दर्शकलाई भित्रैबाट छुने, मनन गर्न बाध्य बनाउने सिनेमा हो। “हामी प्रायः काममा प्यासन छैन भन्छौँ,” उनी थप्छन्, “तर यो प्यासनले हेर्नुपर्ने चलचित्र हो।”

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘मिरमिरे’ माघ १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ। यार्सा फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। कार्यकारी निर्माताको जिम्मेवारी आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेलले सम्हालेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको ‘मिरमिरे’मा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट तथा दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकारी ओएसआर डिजिटलले लिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.