
काठमाडौं । प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ले रिलिजअघि नै प्रवर्द्धनका लागि फरक शैली अपनाएको छ। आगामी माघ २३ गते प्रदर्शनमा आउने चलचित्रले लाइभ सङ्गीत र चलचित्र प्रचारलाई एउटै उत्सवका रूपमा प्रस्तुत गर्दै ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ आयोजना गर्ने भएको हो।
यस एकीकृत कन्सर्ट टुरको ट्रेलर बिहीबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्रका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले चलचित्रका चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गर्दै दर्शकलाई ‘कुमारी’को सङ्गीतिक यात्रामा जोडेका थिए।
बिग मार्टको प्रस्तुति र किङ्स हिल प्रिमियमको सहकार्यमा आयोजना हुने यस देशव्यापी प्रमोशनल टुरमा ब्यान्डसँगै चलचित्रका मुख्य कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतको टोली सहभागी हुनेछ। आयोजकका अनुसार यो टुरले चलचित्र र सङ्गीतलाई एउटै मञ्चमा ल्याउने प्रयास गरेको छ।
नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकलाई समेट्दै सञ्चालन हुने कन्सर्ट शृङ्खलाअन्तर्गत माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं (भृकुटीमण्डप) र माघ १७ गते दमकमा लाइभ प्रस्तुति हुनेछ। काठमाडौंको कन्सर्टमै चलचित्र ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने जनाइएको छ।
हाल चलचित्रको गीत ‘डोको बुन्ने निगालो चोयाले’ दर्शक–श्रोतामाझ लोकप्रिय बनेको छ। उक्त गीतमा केहर सिंह लिम्बुको स्वर, सागर लामिछाने मगर र सुमन तामाङको शब्द तथा सुमन तामाङ र केहर सिंह लिम्बुको सङ्गीत रहेको छ। कार्यक्रममा केहरले यही गीतसँगै अर्को गीत ‘कता छौ मेरो फूल’ पनि प्रस्तुत गरेका थिए।
चलचित्र ‘कुमारी’लाई नेपाली प्रेम कथानक धारको सशक्त प्रस्तुति मानिएको छ। देशभर हुने लाइभ कन्सर्टमार्फत चलचित्रलाई केवल पर्दामा सीमित नराखी सङ्गीतसँग जोडेर दर्शकमाझ पुर्याउने लक्ष्य रहेको निर्देशक दिनेश राउतले बताए। चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्।

