माघ महिनामा नेपाली सिनेमाको उत्साह: ९ वटा चलचित्र प्रदर्शन हुँदै


चिसो मौसमका बाबजुद माघ महिनामा नेपाली सिनेमाको बजार तातिने देखिएको छ। यो महिना साना र ठूला बजेटका गरी कुल ९ वटा नेपाली चलचित्रहरू प्रदर्शनमा आउने पक्का भएको छ। चलचित्र वितरक र हल सञ्चालकहरूका अनुसार यो महिना दर्शकहरूले सामाजिक कथावस्तु, एक्सन, कमेडी र थ्रिलर जस्ता विविध विधाका चलचित्रहरू हेर्ने अवसर पाउनेछन्।

प्रदर्शन तालिका र चलचित्रहरूको विवरण निम्नुसार छ:

१. माघ १ गते (तीन चलचित्र)
माघको पहिलो दिन नै तीनवटा चलचित्रहरू एकसाथ प्रदर्शनमा आउँदैछन्:

मिरमिरे: याम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले बाबु र छोरीको सम्बन्ध तथा गाउँको कथालाई समेटेको छ। यसमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्।

गोबर गणेश: हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को लेखन तथा डेब्यु निर्देशनमा बनेको यो चलचित्रमा मरिचमान श्रेष्ठ र वर्षा सिवाकोटी मुख्य भूमिकामा छन्। यसमा बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

भाइरल गोर्खे: निगम श्रेष्ठद्वारा निर्देशित यो चलचित्रमा सौगात मल्ल एक साधारण गाउँले युवक ‘गोर्खे’ को भूमिकामा छन्, जो सामाजिक सञ्जालमा भाइरल भएपछि उसको जीवनमा आउने परिवर्तन र चुनौतीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रमा सौगातको साथमा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा छन्।

२. माघ ९ गते (दुई चलचित्र)
परिवर्तन: विजय केरुङको निर्देशनमा बनेको यो चलचित्र ‘एक्सन-सस्पेन्स’ विधामा आधारित छ। यसमा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल र करिश्मा मानन्धर लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ।

विगुल: रमेश कोइरालाको निर्देशनमा बनेको ‘विगुल’ सामाजिक-राजनीतिक विषयवस्तुमा आधारित चलचित्र हो। यसमा बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, नीर शाह र सरोज खनाल जस्ता दिग्गज कलाकारहरूको अभिनय छ।

३. माघ १६ गते (दुई चलचित्र)
आ बाट आमा: चन्द्र पन्तको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले आमा र छोराबीचको भावनात्मक सम्बन्धलाई चित्रण गर्दछ। चलचित्रमा प्रदीप रावत, बिपना थापा, पल शाह, साइग्रेस पोखरेल र उषा उप्रेती लगायतको अभिनय छ।

द ब्लु लाइट: बलिराम चौहानद्वारा निर्देशित यो एक ‘साइकोलोजिकल थ्रिलर’ चलचित्र हो। यसमा बेनिशा हमाल, अर्पण थापा, आयुषमान देशराज जोशी र सुरक्षा इटानी जस्ता कलाकारहरूले अभिनय गरेका छन्।

४. माघ २३ गते (दुई चलचित्र)
कुमारी: निर्देशक दिनेश राउतको लेखन तथा निर्देशनमा बनेको यो एक प्रेम कथामा आधारित चलचित्र हो। यसै चलचित्रबाट अभिषेक खड्का र आकृति राजभण्डारीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

रमिताको पिरती: सुदिप्ताको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले युवतीको मनोविज्ञानको कथालाई समेटेको छ। यसमा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.