‘मिरमिरे’मा किन दयाहाङ र सिर्जना नै ?


काठमाडौं । माघ १ गते फिल्म ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी फिल्म ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन् ।

संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्‍याएका हुन्, जसले फिल्म ‘कार्साङ्’ निर्देशन गरेका थिए । अर्थात् ‘कार्साङ्’कै निर्देशक यम शेर्पाले ‘मिरमिरे’ निर्देशन गरेका छन् ।

यमले नै निर्देशक र मुख्य कलाकार (नायक/नायिका) फेरि एक ठाउँमा आएर काम गर्ने वातावरण मिलाएका हुन् । किन निर्देशक यमले आफ्नो दोस्रो फिल्ममा पनि दयाहाङ र सिर्जनालाई नै रोजे ?

“एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ । पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि बुझिन्छ,” निर्देशक यम भन्छन्, “दोस्रो कुरा, दयाहाङ राई यसै पनि सबैले रुचाएको सर्वप्रिय नायक हुनुहुन्छ । नायिकाको हकमा पहिलो फिल्ममै सँगै काम गरिसकेकाले सहज हुने ठानेर दोहोर्‍याएको हुँ ।”

फिल्मको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्रको माग गरेकाले स्क्रिप्ट लेख्दादेखि नै आफ्नो दिमागमा उनीहरू रहेको निर्देशक यम बताउँछन् । कथाको आवश्यकता र पहिले नै सँगै काम गरिसकेको सहजताका कारण निर्देशक र मुख्य कलाकारबीच त्रिकोणात्मक सहकार्य दोहोरिएको उनले स्पष्ट पारे ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’मा दयाहाङ र सिर्जनासँगै मुख्य भूमिकामा प्रकाश सपूत पनि छन् । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो ।

माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मिरमिरे’मा शाइसा गौचन अर्को मुख्य पात्रका रूपमा देखिनेछिन् । उनले दयाहाङकी छोरीको भूमिका निभाएकी छन् ।

केही समयअघि सार्वजनिक गरिएको टिजरले छोरीका लागि बाबुले गरेको संघर्ष देखाएको छ । आमाले घर छोडेपछि छोरी र बाबु मात्रै सँगै बस्ने कथावस्तु टिजरमा देखिन्छ । सानी छोरी आफैँ केही गर्न नसक्ने अवस्थामा भएकाले छोरीको स्याहार, घरको काम, स्कुल र आफ्नो जागिर सबै जिम्मेवारी एक्लै बाबुले सम्हाल्नुपर्ने अवस्थालाई फिल्मले चित्रण गरेको छ । यही क्रममा छोरीप्रति बाबुले निभाएको कर्तव्य र त्याग प्रस्तुत गरिएको छ ।

छोरीले बाबुलाई गर्ने माया र छोरीका लागि बाबुले गर्ने त्यागको भावनात्मक कथाले दर्शकको मन जित्नेमा ‘मिरमिरे’को निर्माण टिम ढुक्क देखिन्छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ, प्रकाश, सिर्जना र शाइसासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् । फिल्मका कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालकसमेत रहेका वितरक रोहित कट्टेल हुन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

फिल्म ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.