
काठमाडौं । साइकोलोजिकल थ्रिलर कथामा तयार गरिएको चलचित्र ‘द ब्ल्यू लाइट’ ले आफ्नो टिजर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको छ । क्रिसमसको अवसर पारेर बिहीबार मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो ।
महेश त्रिपाठी र बेनिशा हमालबीचको संवादबाट सुरु हुने टिजरले प्रेम, आकर्षण, अविश्वास, आक्रमण, प्रतिशोध र हत्या जस्ता भावनात्मक तथा मानसिक द्वन्द्वलाई क्रमशः उजागर गर्छ । पात्रहरूबीचको मनोवैज्ञानिक खेल, नियत र हिंसात्मक सोचले कथा कुन मोडतर्फ जान्छ भन्ने झलक टिजरमा देख्न सकिन्छ ।
निर्माण पक्षले टिजरसँगै चलचित्रको नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । अब ‘द ब्ल्यू लाइट’ माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । यसअघि चलचित्र पुस १० गते रिलिज गर्ने तयारी गरिएको थियो ।
बलिराम चौहानको निर्देशनमा बनेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी प्रमुख भूमिकामा छन् । बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्माको पनि अभिनय रहेको छ ।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको ‘द ब्ल्यू लाइट’ का को–प्रोड्युसर भोलानाथ कटुवाल र रमन ग्रे हुन् । छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल कार्यकारी निर्माताका रूपमा जोडिएका छन् ।
नरेन्द्र मैनालीकै छायांकन रहेको चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा रहेका छन् ।


