राई समुदायको कथा ‘नाक्छोङ’ ट्रेलर सार्वजनिक


काठमाडौँ। राई समुदायको परापूर्वकालदेखि पुस्तौँपुस्ता चलिआएको गहिरो सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याटिक भाषामा पुनर्जीवित गर्ने चलचित्र ‘नाक्छोङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार सुनसरीको इटहरीस्थित इलाइट सिनेमाहलमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो भने, उक्त ट्रेलरलाई युट्युबमार्फत मङ्गलबार मात्र दर्शकमाझ ल्याइएको हो। युकेका विभिन्न शहरहरूमा चलचित्रको सफल प्रिमियर सम्पन्न भइसकेपछि ट्रेलर सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।

ट्रेलरले आफ्ना पिताको निधनपछि पिताको इच्छा अनुसार आत्मा बाटो लगाउन परम्परागत कुलको बिजुवा अर्थात् नाक्छोङ ल्याउन एक छोराले परिवार, समाज र समयसँग गर्नुपर्ने गहिरो आन्तरिक तथा सामाजिक संघर्षलाई कलात्मक शैलिमा प्रस्तुत गरेको छ। राई समुदायमा नाकछोङ भन्नाले कुलपूजाका प्रमुख, देवगुरु, आत्मिक सञ्चारक तथा परम्पराका संरक्षकलाई जनाइन्छ। नाकछोङ कुनै काल्पनिक पात्र नभई पुस्तौँदेखिका विश्वास, विधि, संस्कार र सामूहिक चेतनाको सजीव प्रतिनिधि हो, जसलाई चलचित्रले गहिरो संवेदनशीलतासाथ प्रस्तुत गरेको छ।

चलचित्र केवल कथावाचनमा सीमित नरही समाजमा क्रमशः हराउँदै गएको आत्मिक अनुशासन, कुल मान्यता, पितृपूजा र मौलिक संस्कारको पुनः स्मरण गराउने माध्यम बनेको निर्माता ज्योतीराज राईले बताएका छन्। उनका अनुसार आज आफ्नै समुदायले समेत बिर्सन थालेका यस्ता मौलिक पहिचानलाई संरक्षण नगरेसम्म हाम्रो इतिहास ओझेलमा पर्ने खतरा छ।

चलचित्रको लेखन तथा निर्देशन किरण राईले गरेका हुन्। यसअघि ‘लुङा’ र ‘जिउपैचो’ लगायत विभिन्न म्युजिक भिडियोमार्फत आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरिसकेका राईले ‘नाकछोङ’ मार्फत सांस्कृतिक सिनेमाको फराकिलो आयाम प्रस्तुत गरेका छन्। चलचित्रमा भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, ताया हाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राई ,तुलशा लिम्बु लगायत कलाकारहरूको जीवन्त अभिनयले कथालाई थप प्रभावशाली बनाएको छ।

चलचित्रको दृश्य र ध्वनि पक्षले समेत कथा बोल्ने खालको छ। छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् भने पार्श्वसंगीत मोनिष निरौलाले तयार पारेका छन्। सागर अर्यालको ध्वनि संयोजनले चलचित्रको भावभूमिलाई अझ गहिरो र सशक्त बनाएको छ। गीत–संगीत पक्षमा राजन मुकारुङ र बिष्णु किरातीको शब्द, दिनेश काजी वान्तवा र अनिल कोई राईको संगीत तथा नोगेन लिम्बु र परेस राईको स्वरले कथालाई संगीतमार्फत आत्मा दिने प्रयास गरिएको छ।

‘नाकछोङ’ केवल राई समुदायको संस्कृति चित्रण गर्ने चलचित्र मात्र नभई समग्र नेपाली समाजमा जातीय पहिचान, मौलिकता र परम्पराप्रतिको सम्मानबोध जगाउने सशक्त माध्यम बनेको निर्देशक किरण राईले बताएका छन्। चलचित्रमा प्रस्तुत कुलपूजा, विवाह र मृत्यु संस्कार, चाडपर्व, धार्मिक विश्वास र जीवन दर्शनले राई समुदायको आत्मा बोल्छ। हिमालको काखमा जन्मिएको संस्कृति, जरा र मुटुमा गाडिएको परम्परा तथा देवतासँगको आत्मिक सम्बन्धलाई ‘नाकछोङ’मा सिनेम्याटिक शैलीमा पुनर्जीवित गरिएको उनको भनाइ छ।

यद्यपि चलचित्रको सार्वजनिक प्रदर्शन मिति हालसम्म तय भइसकेको छैन, तर ‘ ‘नाक्छोङ’’लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी गराउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ। उल्लेखनीय छ, निर्माता ज्योतीराज राईले यसअघि ‘लुङ्गा’, ‘संगम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’ र ‘प्रोड्यूसर’ जस्ता चलचित्र निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा सशक्त निर्माताका रूपमा आफ्नो पहिचान बनाइसकेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.