चलचित्र ‘कुमारी’ को नयाँ पोस्टर सार्वजनिक


काठमाडौं। माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले चलचित्रको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ।

सौम्य र क्लासिक लुकमा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको सङ्केतको रूपमा सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ। पृष्ठभूमिमा प्रेमको तरङ्ग बुझाउने ‘वेभ’हरू प्रयोग गरिएको छ। अभिषेक र आकृतिको हाँसो र एक अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ। यस पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्।

दिनेश राउत निर्देशित यो चलचित्र भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले चलचित्रले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ। चलचित्रमा नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन्। सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.