
काठमाडौँ। हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको सिनेमा ‘झरिपछिको इन्द्रेणी’ नयाँ, पुराना र डेब्यु कलाकारहरूको सशक्त उपस्थितिमा तयार भएको छ। पुस्तागत दूरीलाई मेट्दै कलाकारिताको साझा यात्रामा बनेको यो सिनेमा कलाकारहरूको हिसाबले एक ‘कमप्याक्ट प्याकेज’का रूपमा देखिएको छ।
सिनेमा मार्फत कुनै समय सानो र ठूलो पर्दामा दर्शकको मन जितेका कलाकारदेखि आजका नयाँ अनुहारसम्म एकै फ्रेममा देखिनेछन्। दुई दशकअघि टेलिभिजन र सिनेमा क्षेत्रमा एकछत्र चर्चा कमाएका अभिनेता गणेश उप्रेती लामो समयपछि यही फिल्ममार्फत पुनरागमन गर्दैछन्। त्यस्तै, आफ्नो समयका सुपरस्टार मानिने रमेश उप्रेतीको अभिनयले पनि सिनेमालाई थप बलियो बनाएको छ।
यस सिनेमाले निर्देशकका रूपमा अर्जुन घिमिरेको फिचर फिल्म डेब्यु गराएको छ। यद्यपि, ‘सक्किगोनी’जस्तो लोकप्रिय टेलिशृंखलाका निर्देशक तथा कलाकारका रूपमा उनी दर्शकमाझ स्थापित नाम हुन्। कमेडी विधामा उनको अनुभव र पकडले ‘झरिपछिको इन्द्रेणी’लाई दर्शकका लागि हेर्नैपर्ने सिनेमा बनाउने विश्वास निर्माण पक्षको छ।
सिनेमामा कुशल निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको पनि अभिनय रहेको छ। यस्तै, विमोचन दवाडी र जेसिका पोखरेल यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दैछन्। उनीहरूको आगमनसँगै दर्शकले नयाँ अनुहार र नयाँ अभिनयको स्वाद पाउनेछन्।
यसअघि केही फिल्ममा विशेष भूमिकामा देखिएकी प्रियना आचार्य ‘मुन्नी’ ले ‘झरिपछिको इन्द्रेणी’ले समसामयिक यथार्थ बोकेको बताइन्। उनका अनुसार सिनेमा वर्तमान राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव र विशेषगरी जेन–जी पुस्ताको आक्रोश तथा प्रश्नलाई कथाको केन्द्रमा राखेर बनेको छ। “देशमा सिस्टम नहुँदा युवामा कस्तो निराशा पैदा हुन्छ र भविष्यको चिन्ताले विदेशिन बाध्य नेपालीको मनोविज्ञान कस्तो हुन्छ भन्ने कुरा सिनेमाले छोएको छ,” उनले भनिन्।
डेब्यु अभिनेता विमोचन दवाडी पनि आफूले गरेको मेहनत पर्दामा स्पष्ट देखिनेमा विश्वस्त छन्। “सिनेमामा लगाएको पसिना दर्शकले महसुस गर्नुहुनेछ। माउथ पब्लिसिटीमार्फत दर्शक बढ्दै जाने अपेक्षा छ,” उनको भनाइ छ।
यस्तै, अभिनेत्री जेसिका पोखरेलका लागि पनि यो सिनेमा विशेष बनेको छ। छायांकनको हिसाबले दोस्रो भए पनि रिलिजका दृष्टिले यही पहिलो फिल्म भएको उनले बताइन्। “देशले भोगिरहेको परिस्थितिलाई फिल्मको स्क्रिप्टले पहिले नै संकेत गरेको जस्तो लाग्छ। यही कारणले पनि यो सिनेमा दर्शकसँग गहिरो रूपमा जोडिनेछ,” उनले भनिन्।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको सिनेमाका लागि अभिनेता गणेश उप्रेती विशेष रूपमा अमेरिका छोडेर नेपाल फर्किएका थिए।
सिनेमामा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय छ। बाल कलाकारका रूपमा दिप्सन चिलवाल पनि देखिनेछन्। एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाको विशेष उपस्थिति रहनेछ।
निर्देशक घिमिरेकै कथामा बनेको सिनेमाको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। बुद्ध थापाको छायांकन रहेको सिनेमाका निर्माता अनिशा सेन्दाङ लिम्बु हुन्। सह–निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की रहेका छन् भने लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन्।
आगामी पौष ४ गते देशव्यापी प्रदर्शनमा आउने ‘झरिपछिको इन्द्रेणी’ नयाँ पुस्ताको आवाज र अनुभवी कलाकारको अभिनयको इन्द्रेणी बनेर दर्शकमाझ आउने तयारीमा छ।


