
काठमाडौं । पछिल्ला वर्षमा नेपाली बक्स अफिसमा परिवारका सदस्यबीचको भावनात्मक सम्बन्धमा बनेका फिल्मले लगातार सफलता पाइरहेका छन्। ‘पूर्णबहादुरको सारङ्गी’ र ‘परान’ दुवैले बाउ–छोराको सम्बन्धलाई केन्द्रमा राख्दै ऐतिहासिक कमाइ गरे। यी दुवै फिल्मले दर्शकलाई आँसु र आत्मीयताको बीचबाट स्पर्श गरे।
अब यही भावनात्मक धरातलमा आधारित अर्को कथा ‘मिरमिरे’ माघ १ गतेदेखि दर्शकसमक्ष आउँदैछ। तर यसपटक केन्द्रमा बाउ–छोरीको न्यानो सम्बन्ध छ।
फिल्ममा आमाले घर छाडेपछि बाउ र सानी छोरी मात्रको संसार बन्छ। विद्यालय, घरधन्दा, स्याहार–सम्भार र आफ्नो जागिर—सबै एक्लै सम्हाल्दै छोरीलाई सुन्दर भविष्य दिन संघर्षरत बुवाको यात्रा ‘मिरमिरे’ले देखाउँछ।
निर्देशक यम शेर्पा भन्छन्, “हरेक अभिभावकका लागि सन्तान नै ब्रह्माण्ड हो। बुवाले छोरीका लागि गर्ने त्याग र माया हाम्रो कथाको मेरुदण्ड हो।”
उनका अनुसार फिल्मले दर्शकलाई आफ्नै घरको कथा सम्झाउनेछ र धेरैले यसमा आफूलाई सहजै भेट्नेछन्।
यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् भने कार्यकारी निर्माता RR Films का सञ्चालक तथा वितरक रोहित कट्टेल छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर तथा सुदिप कुँवर मुख्य सहायक निर्देशक हुन्। निर्माण नियन्त्रकमा दिलीप पन्त र मेकअपमा सञ्जु थलाङ लिम्बु छन्।
देशभर वितरणको जिम्मा आरआर फिल्म्स (रोहित कट्टेल र रत्नश्रेष्ठ) ले लिएको छ। ‘मिरमिरे’ले बाउ–छोरीबीचको नातालाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्दै दर्शकको मन जित्ने आशा निर्माण टिमले गरेको छ।


