
काठमाडौं। आगामी माघ १६ गते रिलिज हुने फिल्म ‘परिवर्तन’ को छायांकन तीव्र गतिमा चलिरहेको छ। हाल जर्सिङ पौवामा रहेको युनिटले एसडी योगी र रेश्मा पुनको स्वरमा तयार भएको गीत ‘पाकेको चिउरी’ को भिडियो सुटिङ गरिरहेको छ।
गीतमा मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईलीको जोडी फिचर्ड छ। उनीहरूलाई कोरियोग्राफर रामजी लामिछानेले निर्देशन गरिरहेका छन् भने क्यामेरामेन शिव ढकालले दृश्यकैद गरिरहेका छन्। गीतका शब्द मौसम अर्यालले लेखेका हुन् र संगीत भने स्वयं गायक एसडी योगीकै रहेको छ।
दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा सुशील र अञ्जनाका साथै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे मुख्य भूमिकामा छन्।
एक्सन सस्पेन्स विधामा तयार भइरहेको यस फिल्मलाई विजय केरूङले निर्देशन गरेका छन्। फिल्मको कथा तथा निर्माण दीपक सिवाकोटीको रहेकामा पटकथा/संवाद शिवम् अधिकारीले लेखेका हुन्। फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र बन्दे प्रसादको सम्पादन रहनेछ।


