
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्डको कार्यविधि, विद्यमान समस्या र समाधानका उपायहरूबारे आइतबार मन्त्रालयमा एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
छलफल कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल, मन्त्रालयकी सचिव राधिका अर्याल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधाका प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूमा दीपकराज गिरी (लेखक), प्रकाश सुवेदी (पत्रकार), सुवास काफ्ले (व्यवस्थापक), कृषा चौलागाईं (निर्देशक/निर्माता), सरोज न्यौपाने (निर्माता), विकास सुवेदी (लेखक), करण श्रेष्ठ (वितरक/निर्माता), दीपक प्रसाद आचार्य (निर्देशक), क्षितिज सुवेदी (व्यवस्थापक/निर्माता), रत्न श्रेष्ठ (वितरक), राजबहादुर साने (निर्देशक/निर्माता), पुरुषोत्तम प्रधान (निर्माता/प्राविधिक), सागर लामिछाने (निर्देशक), राज श्रेष्ठ (विदेशी चलचित्र वितरक), शिवम अधिकारी (लेखक), जनक खड्का (निर्देशक) लगायत रहेका थिए।
यसैगरी चलचित्र सेन्सर बोर्डका प्रमुख उदय राना मगर, चलचित्र विकास बोर्डका सदस्य सचिव राजेश कुमार थापा तथा बोर्ड सदस्य लोकनाथ सुवेदी र ममता बास्तोलाको पनि सहभागिता रहेको थियो।
छलफलका क्रममा चलचित्र सेन्सर प्रक्रियामा देखिएका व्यवहारिक चुनौती, स्पष्ट र पारदर्शी कार्यविधिको आवश्यकता, साथै चलचित्रमैत्री समाधानका उपायहरूबारे गहन र रचनात्मक विचार–विमर्श गरिएको थियो।
कार्यक्रमबाट प्राप्त सुझावहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नीतिगत सुधारका लागि अध्ययन गरी आवश्यक कार्यविधि संशोधन गर्ने तथा ऐनमा समावेश गर्नुपर्ने विषयहरूलाई राष्ट्रिय सभामा सुझावका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस पहलले चलचित्र सेन्सर प्रणालीलाई समयानुकूल, सरल र चलचित्रमैत्री बनाउँदै नेपाली चलचित्र उद्योगको दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।


