
काठमाडौं । निर्देशक एकता पौडेल को डेब्यु निर्देशन रहेको फिल्म ‘हर्ष’ को निर्माण टिम पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर प्रचार गरेको छ । आगामी मंसिर १२ गते बाट प्रदर्शनमा आउने यो फिल्मको प्रचार सामाग्रीले लामो समयपछि नेपाली फिल्ममा पारिवारिक कथाले स्थान पाउन थालेको देखाएको छ ।
झापाको बिर्तामोडस्थित लिंकन कलेज, निधि स्कुल, बाल्मीकी स्कुल, चिल्ड्रेन स्कूलमा पुगेर निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत ले फिल्मको कथावस्तु बारेमा जानकारी दिँदै दर्शकलाई हेर्न आग्रह गरे ।
स्वर्गीय निर्देशक शिव रेग्मी की भान्जी समेत रहेकी निर्देशक पौडेलले पछिल्लो समय पारिवारिक फिल्मको ट्रेन्ड घट्दै गएकाले आफूले यो विधा रोजेको बताइन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी पौडेलले यसअघि केही छोटा फिल्म समेत निर्माण गरेकी छन् ।
फिल्ममा खगेन्द्र, वर्षा र साइमनसहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता रहेको यो फिल्मको वितरण काफिया फिल्मस् र डिसिएनले गर्नेछ ।


