
काठमाडौं । रिहान प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्म ‘मुगलान’ को पहिलो गीत ‘पिन्टु पियारी’ रिलिज गरिएको छ। निर्माण टिमले सोमबार युना डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेको हो।
डान्सिङ फ्लेभरको यो गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालको केमिस्ट्री र छमछमी नृत्य देख्न सकिन्छ। भिडियोमा उनीहरुको प्रस्तुति दर्शकले मन पराइरहेका छन् भने कमेन्ट र भ्युजको क्रेजबाट पनि गीतप्रति दर्शकको उत्साह झल्किएको छ।
गीतमा गायक हरि गिरी (विमर्शी) र शान्तीश्री परियारको स्वर रहेको छ। संगीत र शब्द दुवै हरि गिरीको नै रहेको छ। गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ एचबिएन किस्मतले गरेका हुन् भने रेकर्डिङ राज खड्काले सम्पन्न गरेका हुन्।
‘मुगलान’को प्रचार–प्रसारका क्रममा योभन्दा अघि पनि विभिन्न पोस्टर र सामाग्री सार्वजनिक गरिसकिएको छ। फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालसँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।
आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता गोमन सिंह हुन् भने को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन्। तारा थापा ‘किम्भे’ले सम्पादन गरेको फिल्ममा जय बिष्ट र राम गुरुले द्धन्द्व निर्देशन सम्हालेका छन्। फिल्मको ब्याकग्राउण्ड स्कोर रिदम कँडेलले तयार पारेका छन्। फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ।



