नेपालमा पहिलोपटक हरर फिल्म महोत्सव,नेपाली फिल्म क्षेत्रमा नयाँ विधाको सुरुवात


काठमाडौँ । नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु भएको छ । ‘काठमाडौँ हरर चलचित्र महोत्सव २०२५’ नाम दिइएको महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा शुक्रबारबाट सुरु भएको हो । महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले गरे ।

कार्यक्रममा बोर्ड अध्यक्ष दाहालले नेपाली चलचित्र उद्योगको विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा ढोका खोल्ने काम महोत्सवहरूले गरिरहेको बताए । उनले सरकारी तवरबाट हुनुपर्ने महोत्सव व्यक्तिगत रूपले चलचित्रकर्मीहरूले गरेको देख्दा खुसी लागेको धारणा राखे ।

महोत्सवको आयोजना नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गरेको हो । प्रतिष्ठानका उपाध्यक्ष शिव पुरीले प्रतिष्ठानले नेपालमै पहिलोपटक ‘काठमाडौँ हरर फिल्म महोत्सव २०२५’ आयोजना गरेर रचनात्मक यात्राको सुरुवात गरेको बताए । उनले कल्पना, कथा वाचन र फिल्मको विश्वव्यापी भाषालाई महोत्सव उत्सवको रूपमा लिनुपर्ने धारणा राखे ।

कार्यक्रममा वरिष्ठ निर्देशक तुलसी घिमिरेले महोत्सवको महत्वको विषयमा प्रकाश पारेका थिए । ‘हेलोविन डे’ को अवसर पारेर सुरु भएको महोत्सव नोभेम्बर २ (१६ कात्तिक) सम्म चल्नेछ । महोत्सवमा १५ देशका २५ हरर फिल्म प्रदर्शन हुनेछन् ।

महोत्सवमा सहभागी फिल्महरूबिच प्रतिस्पर्धा हुनेछ, जसमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट युवा फिल्म गरी तीन विधामा पुरस्कार प्रदान गरिनेछ ।

महोत्सवको सुरुवात मिखाइल मज्र्लिकिन निर्देशित फिल्म ‘शमन’बाट भएको छ । महोत्सवको निर्णायक मण्डलमा फोटोग्राफर राजभाइ सुवाल, फिल्म समीक्षक होसाम फाह्मी, र अन्तर्राष्ट्रिय कलाकार यास्मिन बुछफार रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.