
काठमाडौँ। वर्षकै प्रतिक्षित सिनेमा ‘जारी २’ को ट्रेलरले दर्शकमाझ जबरजस्त उत्साह र चर्चा सिर्जना गरेको छ। युट्युबमा सार्वजनिक भएको दुई दिनमै ट्रेलरले १० लाखभन्दा बढी भ्युज हासिल गर्दै सामाजिक सञ्जालभर ट्रेन्डिङ बनेको छ।
ट्रेलरले न केवल उच्च भ्युज पाएको छ, दर्शक प्रतिक्रिया र सराहना पनि उत्कृष्ट मिलिरहेको छ। यो समाचार तयार पार्दासम्म ट्रेलरमा १० लाख भ्युज, १ हजार १ सयभन्दा बढी कमेन्ट, र ३० हजारभन्दा बढी लाइक प्राप्त भइसकेका छन्। कमेन्टमा धेरै दर्शकले “कार्तिक २१ कहिले आउला!” भन्दै उत्सुकता व्यक्त गरेका छन्।
ट्रेलरमा दयाहाङ राई र मिरुना मगरको केमेस्ट्रीलाई दर्शकले निकै मन पराएका छन् भने विजय बरालको उपस्थिति सिनेमा प्रती थप आकर्षणको रूपमा हेरिएको छ।
‘जारी २’ को ट्रेलरले लिम्बु समुदायको सांस्कृतिक पहिचान र त्यस वरिपरिका सामाजिक तथा पारिवारिक कथालाई केन्द्रमा राखेको देखिन्छ। सिनेमा उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा तयार भएको हो। निर्माणमा रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ संलग्न छन्।
सिनेमामा दयाहाङ राई, मिरुना मगर र विजय बरालका साथै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय देख्न सकिन्छ।



