
काठमाडौँ। आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ को ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
ट्रेलरमा सडक बालकबाट सांगीतिक सफलतासम्मको यात्रा तय गरेका अशोक दर्जीको जीवनकथा चित्रण गरिएको छ। चलचित्रले मन र धनबीचको संघर्ष, र अशोक दर्जी कसरी जिरोबाट हिरो बने भन्ने कथालाई भावनात्मक र यथार्थपरक ढङ्गले प्रस्तुत गरेको छ।
सडकमा गीत गाएर जीविकोपार्जन गरिरहेका अशोकलाई संगीतकार टंक बुढाथोकीले साथ दिएपछि उनको जीवनले नयाँ मोड लिएको थियो। “मन बिनाको धन ठुलो कि धन बिनाको मन” भन्ने चर्चित गीतमार्फत अशोकको जीवन परिवर्तन भएको थियो। हाल अशोक काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।
सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रको कथा टंक बुढाथोकीले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्। चलचित्र बुढाथोकी स्वयंले निर्माण र निर्देशन गरेका छन्।

चलचित्रको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्माताको रूपमा सपना शर्मा (सपना) रहेकी छिन्। यसका सह-निर्मातामा जी.पी. संग्रोला, विवेक नेपाल र बिजया पाण्डे छन्। चलचित्रका क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी हुन्।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रमा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन, र नवराज शर्माको सहायक निर्देशन रहेको छ।
‘मन बिनाको धन’ लाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।



